जनप्रतिनिधिकै घरबाट काेठा सर्न बाध्य स्वास्थ्यकर्मी
खोटाङ – कोरोना सङ्क्रमण फैलिएका कारण खोटाङको साकेला गाउँपालिकाकी एक स्वास्थ्यकर्मी डेरा फेर्न बाध्य हुनुभएकाे छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भएकी अनमी बस्नेत साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको घरमा बस्दै आउनु भएको थियो ।
दशैं बिदा सकेर आइतबार कार्यक्षेत्र फर्कदै गरेको अवस्थामा धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काका श्रीमान)ले फोन गरेर अर्को कोठा खोजेर सर्न भनेपछि हत्तपत्त अर्को घरमा कोठाको व्यवस्था गर्नुपरेको अनमी बस्नेतले बताउनुभयो ।
अनमी बस्नेतका लागि वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै सहयोगमा अर्को घरमा कोठाको बन्दोबस्त मिलाइएको छ । अनमी बस्नेत वर्षदिन अघिदेखि गाउँपालिकाकी उपाध्यक्ष खड्काको घरमा डेरामा बस्दै आउनु भएको थियो । अकस्मात कोठा खोज्नुपर्ने बास पाउन गाह्राे भएको अनमी बस्नेतको गुनासो छ ।
गाउँपालिका उपाध्यक्षका श्रीमान् खड्काले भने घरमा उच्च रक्तचाप र मुटुको औषधि सेवन गरिरहेको रोगी आमा भएकाले सुरक्षित बस्ने विषयमा सोच्न मात्र भनेको बताउनुभयो ।