कोरोनाको सङ्क्रमण बढेपछि काठमाण्डाै उपत्यकामा थप जोखिम : बैठक बसेर आवश्यक निर्णय लिने तयारी

काठमाण्डाै – कोरोनाको सङ्क्रमण बढेपछि काठमाण्डाै उपत्यका थप जोखिममा परेको जनप्रतिनिधिले बताएका छन् ।
देशभर रहेका सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाण्डौ उपत्यकामा रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८२४ सङ्क्रमितमध्ये एक हजार ६२२ उपत्यकाका छन् । जोखिमपूर्ण अवस्थामा सङ्क्रमितको खोजी गरी उपचारको दायरामा ल्याउने र उनीहरूको सम्पर्कमा परेका व्यक्तिको परीक्षणलाई तीव्र बनाउनुपर्ने खाँचो रहेको उहाँको भनाइ छ ।
स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ नहुँदा सर्वसाधारणले उल्लङ्घन गर्ने क्रम बढेको छ । मास्क नलगाउने, जथाभाबी सामूहिक गतिविधिमा सहभागी हुने, भौतिक दूरी कायम नगर्ने जस्ता क्रियाकलाप बढ्न थालेको छ । सङ्क्रमणदर अनुसारको तयारी नपुगेको उपत्यका नगरपालिका फोरमको भनाइ छ ।
विगतमा दिइएको सुझाव समेत कार्यान्वयन हुन नसक्दा जोखिम बढेको फोरमले जनाएको छ । फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार कोराेना सङ्क्रमण रोक्न कसरी जाने भनेर बैठकको तयारी भैरहेको छ ।
समुदायमा देखिएको सङ्क्रमणको अवस्था र त्यसलाई रोक्न चाल्ने कदमबारे निर्णय गर्न आज महानगरले बैठक बोलाएको पनि उहाँले जानकारी दिनुभयो । काठमाण्डाै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सङ्क्रमणका विषयमा कसैले पनि खेलबाड गर्न नहुनेमा जोड दिनुभएको छ ।
काठमाण्डौ उपत्यकाका १८ वटै नगरपालिकाले आफ्नो क्षमताअनुसार जोखिम रोक्ने गतिविधिलाई निरन्तरता दिइरहेको तर प्रभावकारी हुन नसकेको जनप्रतिनिधि र नागरिकको गुनासो छ । चाडबाडसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमण फैलिन सहयोग पुग्ने भएकाले अझै नियन्त्रणका उपायलाई तीव्र पार्नुपर्ने आवश्यकता रहेको नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डाक्टर अनिल कार्कीले सुझाव दिनुभएको छ ।