दलित समुदायलाई लक्षित गरी लमजुङमा कर्मकाण्डसम्बन्धी १२ दिने प्रशिक्षण सुरु

जनपत्र
१५ कार्तिक २०७७, शनिबार १९:१५

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–७ मा रहेको राम जानकी मन्दिरमा १२ दिने कर्मकाण्डसम्बन्धी प्रशिक्षण सुरु भएको छ । सगोरा नेपालको आयोजना र विश्व हिन्दू महासंघ, लमजुङको सह–आयोजनामा शनिबारबाट प्रशिक्षण सुरु भएको हो ।

विशेषगरी दलित समुदायका व्यक्तिहरुलाई लक्षित गरी कर्मकाण्डसम्बन्धी प्रशिक्षण सुरु गरिएको सगोरा नेपालका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज कृष्ण ज्ञवालीले बताउनुभयो । दलित समुदायका व्यक्तिहरुलाई कर्मकाण्डसम्बन्धी प्रशिक्षण प्रदान गरी समुदायमा यससम्बन्धी सेवा प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

‘विगतमा दलित समुदायका घरमा पुगेर ब्राह्मणले कर्मकाण्ड कमै गर्थे । अहिले त बिस्तारै ब्राह्मण पनि उनीहरुका घरमै पुगेर कर्मकाण्डमा सरिक हुन थालेको छन्,’ उहाँले भन्नुभयो, ‘सबै समान हुन भन्नुका साथै दलित समुदायका व्यक्तिलाई पनि कर्मकाण्ड सम्बन्धी प्रशिक्षण गराइ समुदायमा सेवा प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो ।’

यसका साथै मौलिक कला, धर्म, परम्परा, सँस्कृति संरक्षणमा टेवा पुर्याउनु पनि कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । प्रशिक्षणमा दलित समुदायका १३ जना र ब्राह्मण, क्षेत्री समुदायका १२ जना गरी २५ जना सहभागि हुनेछन् ।

सहभागीलाई अच्युतशरण बराल र तुलसी विकास अधिकारीले कर्मकाण्डसम्बन्धी प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षक बरालका अनुसार सहभागीलाई पात्रो हेर्ने, अग्नि स्थापना, चण्डीपाठ, श्रीमद्भागवत गीता पाठका विषयमा जानकारी गराइनेछ ।

सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले वास्तवमै श्रमलाई सम्मान गर्न सकेमा सबै दलित समुदाय सम्मानित हुने बताउनुभएको छ ।

‘वास्तवमै श्रमलाई सम्मान गरियो भने सबै दलित समुदाय सम्मानित हुन्छन् । उत्पादन गरेको वस्तु प्रिय हुने तर जसले उत्पादन गरेको छ । त्यही व्यक्ति अप्रिय हुने ?,’ प्रशिक्षणको औपचारिक उद्घाटन सत्रमा बोल्दै उहाँले भन्नुभयो ।

‘श्रमिकको सम्मान हुने व्यवस्था आवश्यक छ,’ उहाँले थप्नुभयो, ‘सबैभन्दा ठूलो कुरा उदारता हो । हिन्दू धर्म उदार छ । तर त्यही धर्म मान्ने मान्छे हामी उदार हुन सकेनौँ ।’

मौलिक धर्म सँस्कृतिको संरक्षण आवश्य रहेको बताउँदै उहाँले प्रशिक्षणमा सिकेका ज्ञान, सीपलाई समुदायको सेवामा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । हिन्दू धर्मशास्त्रअनुसार कर्मकाण्ड एकदमै महत्वपूर्ण रहेको वैदिक सनातन कर्मकाण्ड महासंघ, लमजुङका अध्यक्ष कमल अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार हिन्दू धर्मशास्त्रअनुसार जन्मदेखी मृत्युपर्यन्त कर्मकाण्डगअन्तर्गत १६ वटा संस्कार हुन्छन् । वेदमा रहेका एक लाख मन्त्रमध्ये ८० हजार मन्त्र कर्मकाण्ड सम्बन्धी रहको र १६ हजार मन्त्र ज्ञान काण्ड र ४ हजार मन्त्र उपासना सम्बन्धी रहेको पनि उहाँले बताउनुभयो ।

कर्मकाण्डबिना मोक्ष, ज्ञान र उपासना प्राप्ति नहुने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । कार्यक्रममा विश्व हिन्दू महासंघ लमजुङका अध्यक्ष घनश्याम सुवेदी, शिवसेना नेपालकी केन्द्रीय सदस्य सृजना वाग्ले, सगोरा नेपालका संस्थापक संरक्षक अर्जुन राना लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*