जुम्लामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

जनपत्र
१४ कार्तिक २०७७, शुक्रबार ०७:१२

दुईपटक कोरोनामुक्त भएको जुम्लामा फेरि संक्रमण बढ्न थालेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढ्न थालेको चिकित्सकहरूले बताएका छन् । जुम्ला १४ असोजमा कोरोनामुक्त भएको थियो । संक्रमण देखिएका सबैजना निको भएका थिए । यसअघि १२ साउनमा पनि संक्रमणमुक्त भएको थियो । तर, त्यसपछि स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढ्न थालेको छ । स्थानीय बासिन्दाले कोरोनालाई रुघाखोकीजस्तै सोचेर वास्ता नगरेपछि जोखिम बढेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निषेधाज्ञा लगाउँदासमेत आलोचना खेप्नुपरेको प्रजिअ थापाले बताए ।

बिहीबारसम्म जुम्लामा सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यससँगै अहिलेसम्म संक्रमित हुनेको संख्या तीन सय ३७ पुगेको छ । उनीहरूमध्ये दुई सय ९३ जना निको भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । अहिले सक्रिय संक्रमितमध्ये चारजना संस्थागत आइसोलेसनमा र ४० जना होम आइसोलेसनमा रहेको उनले बताए ।
लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना तथा मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना आएका छन् । उनीहरूसहित अहिलेसम्म १० हजार आठ सय १३ जनाको कोरोना परीक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*