काेराेना महामारीले राेजगारी गुमेपछि गिट्टी, बालुवा र ढुङ्गाकाे भर
कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् ।
बिहान ६/७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका बालुवा प्रतिट्र्याक्टर तीन हजार रुपैयाँ, गिट्टी प्रतिट्र्याक्टर दुई हजार ५०० रुपैयाँ र ढुङ्गा एक हजार ३०० रुपैयाँका दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताउनुभयो । भारतमा होटेलमा काम गर्दा मासिक २० हजार भारतीय रुपैयाँ कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३ का इन्द्र दमाईले बताउनुभयो । उ
हाँले भन्नुभयो, “भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हुँ । घर खर्च चलाउनका लागि अहिले बालुवा गिट्टी बेच्ने गरेको छु ।” तीन/चार दिनमा एक ट्र्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक २५/३० हजार रुपैयाँ आम्दानी गर्ने गरेको उहाँको भनाइ थियो ।
गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारहरुको तथ्याङ्क सङ्कलन गरिहेको र उनीहरुको सीपअनुसारे रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लले बताउनुभयो ।







