मान्यजनबाट आज पनि दशैँको टीका र जमरा लगाइँदै
काठमाण्डाै – दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ ।
दशैंको मुख्य दिन अर्थात् विजयादशमी हिजो मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरी मनाइएको छ । नेपालभर पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दशैँको टीका लगाउने प्रचलन छ ।
दशैँका लागि हिजो बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने गयरातिदेखि मात्र जमरा टीका लगाउन सुरु भएको छ । नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्य पूजापछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन सुरु गरेका पूजारी भानुचन्द्र उपाध्यायले बताउनुभयो ।







