‘अपरेसन रिचार्ज कार्ड’ : चोरीका ४ मोटरसाइकलसहित ३ जना पक्राउ

जनपत्र
४ कार्तिक २०७७, मंगलवार ०९:३७

काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमीले सन्चालन गरेको ‘अपरेसन रिचार्ज कार्ड’ अभियानबाट चोरीका चार मोटरसाइकलसहित एकै दिन ३ जना व्यक्ति पक्राउ परेका छन् ।

यही कात्तिक ३ गते बिहान ९ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको पल्सर मोटरसाइकल हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो । चोरी भएको ठाउँ नजिकै एक जना शंकास्पद व्यक्ति आई फोन रिचार्ज गरेको र सोही समयमा नै मोटरसाइकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानेर प्रहरीले ‘आपरेसन रिचार्ज कार्ड’ नामबाट अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा रामेछापको ठोसे घर भई हाल भक्तपुरको बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखाको भिमेश्वर नगरपालिका ४ घर भएका २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठमाडौंको मुलपानी बस्ने २९ वर्षीय मनोज लामा चोरीका मोटरसाइकलसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक ऋषिराम कडेलले जानकारी दिए ।

उनीहरुको साथबाट  परिवर्तित नम्बर प्रदेश ३–०२–०१७ प ६१६७ राखिएको लु ६३ प ७०७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीकै रातो–कालो रंगको पल्सर मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीको निलो पल्सर मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीको सेतो रंगको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*