नेकपामा प्रश्न : महामारीमा जम्बो बैठक कसरी बस्ने ?

जनपत्र
२ कार्तिक २०७७, आईतवार २०:२२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक १५ देखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । गएको भदौ २६ को स्थायी कमिटी बैठकले निर्धारण गरेको बैठकको यो मिति अहिलेसम्म परिवर्तन नभएकाले आगामी कात्तिक १५ देखि बैठक सुरु हुनेमा केन्द्रीय सदस्यहरु ढुक्क छन् ।

प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा बैठकको मितिबारे अहिलेसम्म नयाँ निर्णय नभएको बताउँछन् । ‘स्थायी कमिटी बैठकको निर्णयबारे नेतृत्वले नयाँ निर्णय नगरेकाले बैठक बस्छ भन्ने नै बुझ्नुपर्छ,’ थापा भन्छन् ।

पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष हल गर्दै चैतमा एकताको महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर, अहिलेसम्म बैठकको प्राविधिक र राजनीतिक दुवै तयारी भएको छैन । कोरोना संक्रमण उच्च दरमा बढिरहेकाले बैठकबारे केन्द्रीय सदस्यहरुमा अन्योल देखिएको छ ।

केन्द्रीय सदस्य गोमा देवकोटा, संक्रमण उच्च दरमा फैलिरहेकाले यसबारे नेतृत्वले सोच्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘महामारी बढिरहेको छ, यस्तो परिस्थितिमा सुधार नआए बैठक केही समय पछि सार्न पाए हुन्थ्यो ।’

तर, नेकपाको उच्च तहको निकाय सचिवालयमा अहिलेसम्म केन्द्रीय कमिटी बैठकबारे छलफलसमेत भएको छैन । केन्द्रीय कमिटी बैठक अगाडि टुंग्याउनुपर्ने एकता प्रक्रियाका बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठनको विषय समेत नसुल्झिएकाले यसबारे छलफल नै नथालेको एक सचिवालय सदस्य बताउँछन् ।

त्यसो त सचिवालय बैठक नबसेको पनि एक महिना पुग्न लागेको छ । गएको असोज ४–६ यता सचिवालय बैठक बोलाइएको छैन । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे भने विकल्प खोजेर भए पनि केन्द्रीय कमिटी बैठक बस्नुपर्ने बताउँछन् । ‘फराकिलो हल खोजेर अथवा भर्चुअल माध्यमबाट भए पनि बैठक बस्नुपर्छ,’ उनी भन्छन् ।

चैतमा महाधिवेशन गर्नलाई केन्द्रीय कमिटी बैठक निर्धारित समयमै बस्नुपर्ने पाण्डे बताउँछन् । तर, बैठक बस्न सजिलो परिस्थिति नरहेको संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । उनी भन्छन्, ‘हाम्रो केन्द्रीय कमिटी निकै ठूलो छ । त्यसमाथि ठूला नेताहरुका सहयोगी र सुरक्षाकर्मीहरु गरी भीड ठूलै हुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*