स्कुल जाँदैनन् बंगेरीका बालबालिका

चेपाङ र तामाङ समुदायको बसोबास रहेको उक्त बस्तीमा स्कुल नदेखेका ५० जनाभन्दा बढी बालबालिका छन् । उनीहरू गोठालो गएरै दिन बिताउँछन् । अधिकांशको खुट्टामा चप्पल छैन ।
जनपत्र
२९ आश्विन २०७७, बिहीबार १६:५६

बङगेरी, (हेटौंडा) — सिलाबरको थोत्रो थाल । त्यसैमा निस्तो ढिँडो खाइरहेका छन् बालबालिका । छेवैमा छन्, आमा सुविना र बाबु सोमबहादुर चेपाङ । भर्खर २७ वर्ष पुगिन् सुविना । यही उमेरमा उनका ६ सन्तान छन्, एकदेखि १२ वर्षसम्मका । त्यसो त उनले ९ वटा बच्चा जन्माएकी हुन् ।

तीन जना जोगिएनन् । ती सबैको झाडापखालाले ज्यान गएको सुविना बताउँछिन् । मंगलबार बिहान यो चेपाङ दम्पती छोराछोरीलाई ढिँडो खुवाएर मजदुरीमा निस्कने हतारोमा थियो । उनीहरूले दुई माना मकैको पिठोको ढिँडो पकाएर ८ जनाले भाग लगाए । तरकारी थिएन । चोप्ने नुनखुर्सानीसम्म नि थिएन । बिहान ८ बजे खाएको यही ढिँडोले बेलुकीसम्म धान्नुपर्छ ।

बेलुकी आमाबाबुले ज्यालाबनी गरेर पिठो ल्याए बच्चाबच्चीको पेटमा पर्छ । नत्र भोकै सुत्नुपर्छ । त्यसैले उनीहरू सबै जना कुप्रोषणले ग्रस्त भएझैं देखिन्छन् । पिँडुला साना, पेट ठूलो छ । उनीहरूका आङमा कपडा त छ, तर सबै च्यातिएको । त्यसमाथि मयल कटकटिएको छ । १५ वर्षमै विवाह गरेकी सुविनाले १६ वर्षदेखि नै बच्चा जन्माइन् । ती सबै घरमै जन्मिए । स्वास्थ्यचौकी गराएर गर्भजाँचसम्म गराइनन् । स्वास्थ्यचौकीमा सुत्केरी हुँदा भत्ता पाइन्छ भन्नेसम्म उनलाई थाहा छैन । भए पनि स्वास्थ्यचौकी पुग्न त्यहाँबाट तीन घण्टा हिँड्नुपर्छ ।

हेटौंडा उपमहानगरपालिका–१५ बङगेरीमा जस्तापाताले छाएको एकतले काठको घर छ उनीहरूको । ‘ भूकम्पपीडित भनेर बाहिरका मानिस आई जस्तापाता दिएका थिए,’ सुविनाले भनिन्, ‘पहिले पानी चुहिएर भित्र बस्न सकिने हुँदैनथ्यो ।’

तीन छोराछोरी पढ्ने उमेरका भइसके । तर, उनीहरू स्कुल जाँदैनन् । नजिकको स्कुल भनेकै दुई घण्टा टाढा छ ।

पथलैया—हेटौंडा सडकको रातमाटे चोकबाट साढे २ घण्टा बगरैबगर हिँडेपछि बङ्गेरी पुगिन्छ । यहाँ सुविना मात्र होइन, मंगले चेपाङ, आइते चेपाङलगायत सबैलाई यस्तै समस्या छ । उनीहरू खोलाको पानी पिउँछन् ।

‘बर्खायाममा धमिलो पानी खाँदा झाडाबान्ता लाग्ने गरेको छ,’ मंगले चेपाङले हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतलाई आफ्ना समस्या सुनाए, ‘यहाँ पानीको असाध्यै दुःख छ, सधैं खोलाको पानी खाने गरेका छौं हजुर ।’

मेयर महत र वडाध्यक्ष महारत्न लामा पहिलोपटक मंगलबार उक्त बस्तीमा पुगेका थिए । चुरेको खहरेले उजाड बनाउन लागेको बस्तीका अधिकांश बासिन्दासँग नागरिकता छैन । ५ कक्षासम्म पढ्ने एक जना पनि छैनन् ।

चेपाङ र तामाङ समुदायको बसोबास रहेको उक्त बस्तीमा स्कुल नदेखेका ५० जनाभन्दा बढी बालबालिका छन् । उनीहरू गोठालो गएरै दिन बिताउँछन् । अधिकांशको खुट्टामा चप्पल छैन । वर्षौंदेखि रगतपसिना बगाएर सिञ्चित गरेको जमिन स्थानीयको नाममा छैन । न त आश्रय लिँदै आएको घरकै स्वामित्व छ ।

यी सबै अवस्था बुझेपछि मेयर महतले स्थानीयमाझ दसैंअघि नै उनीहरूका लागि शुद्ध खानेपानीको व्यवस्था गरिदिने प्रतिबद्धता जनाए । सामुदायिक भवनमा पढ्ने व्यवस्था मिलाउन उपमहानगरपालिकाले नै बजेट उपलब्ध गराइदिने वचन दिए । ‘तत्कालै बस्ती र घरको संरक्षण गर्न जाली उपलब्ध गराइनेछ, खर एवं स्याउलाका छाना भएकालाई जस्तापाता दिइनेछ’, उनले भने, ‘तत्काल विद्युत् ल्याउन सम्भव छैन, त्यसैले उपमहानगरले सोलार उपलब्ध गराउनेछ ।’

साबिक चुरियामाई गाविसमा पर्ने उक्त बस्तीमा चेपाङ र तामाङका घर २५ घरधुरी छन् । हेटौंडालाई उपमहानगर बनाउने क्रममा चुरियामाई पनि त्यसैमा समेटिएको हो । स्थानीयका पीडा सुन्दा मन कुँडिएर आउने वडाध्यक्ष लामा सुनाउँछन् । ‘यहाँका बासिन्दालाई अहिलेसम्म कोरोना भन्नेसम्म थाहा छैन,’ उनले भने, ‘यहाँ एनसेल र टेलिकमको टावर टिप्दैन । न त कसैकहाँ टिभी छ । कति नम्बर वडामा बस्छौं भन्नेसमेत उनीहरूलाई हेक्का छैन ।’ इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*