मनसुन बाहिरिन अझै केही दिन लाग्ने
काठमाण्डौ – नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्को भनाइ छ । गएकाे वर्ष पनि मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष अझै केही दिन ढिलो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताइएको छ ।
अहिले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा आंशिक बदलीको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







