कोरोनापछि यस्ता सकारात्मक परिवर्तन पनि भएका छन् !
विश्व महामारीको रुप लिएको कोभिड–१९ ले मान्छेको जीवनमा यति धेरै परिवर्तन ल्याइसकेको छ कि कुनै समय कल्पना पनि गर्न नसकिने कुराहरु अहिले सबैका लागि ‘न्यु नर्मल’ अर्थात अनौठोगरी सामान्य बनेको छ । वास्तवमा कोभिड फैलनबाट रोक्नका लागि आवश्यक प्रत्येक नयाँ उपायलाई यतिखेर ‘न्युन नर्मल’ को नाम दिइएको छ ।
राजनीतिज्ञहरुदेखि मिडिया र परिवार अनि साथीभाइसम्मको स्तरमा अबको जीवन यिनै न्यु नर्मलमा आधारित हुनेछ भन्ने मानसिकता बसिसकेको छ । नेपालका ग्रामिण तहदेखि सहरसम्म कोरोना महामारीपछि केही सकारात्मक परिवर्तन भएका छन् ।
लकडाउन, सामाजिक दुरी अनि मास्कबाट सुरु भएको कोभिड न्यु नर्मलमा दशकौँदेखि चलिआएको हात मिलाउने, अंकमाल गर्नेजस्ता परम्परागत संस्कृतिहरुसमेत प्रभावित भएका छन् । यसलाई नमस्तेले प्रतिस्थापन गर्न थालिएको हामीले विभिन्न अन्तर्राष्ट्रिय समारोहमा देखिसकेका पनि छौँ । नेपालमा पनि कोही भेट हुनासाथ हात मिलाउने प्रचलन अहिले छँदै छैन भन्दा पनि हुन्छ ।
त्यस्तै महामारीले मान्छेमा सरसफाइलाई बढी प्राथमिकतामा राख्ने बानी पनि स्थापित गराएको छ । संक्रमणको डरले मानिसहरु आफ्नै परिवारका सदस्यसँग नजिकिन डराउनुपर्ने अवस्था आएको छ । जसमा ससाना बालबालिकाहरु प्लास्टिकको कभर लगाइ आफ्ना बुढा हजुरबुवाआमालाई भेट्न गएका घटनाहरु पनि पछिल्ला महिनाहरुमा प्रशस्तै देखियो । त्यसैगरी अन्त्येष्टि गर्दा समेत मानिसहरुले भिडियो कलबाट आफ्ना प्रियजनलाई बिदा गरेका छन् ।
यसले सम्पूर्ण कामकाज घरबाट अनि स्कुल र कलेजहरु अनलाइन कक्षामा आधारित बनाइदिँदा प्रविधिको प्रयोग यतिखेर मानव इतिहासकै उच्च बिन्दुमा पुगेको छ जहाँ सबै काम ‘अनलाइन’ मार्फत सम्भव भइसकेको छ ।
यसबाट पनि प्रविधिमा कोरोना महामारीले कतिसम्मको उल्लेखनीय प्रभाव पार्यो भन्ने स्पष्ट हुन्छ । ‘न्यु नर्मल’ अन्तर्गतका प्राविधिक बदलावहरु अपनाउने क्रम बढ्नुले ‘वर्क फ्रम होम’, अनलाइन कक्षा, अनलाइन शपिङ जस्ता इन्टरनेट गतिविधिलाई अहिले विश्वव्यापी रुपमा प्रचलित बनाइदिएको छ ।
उदाहरणका लागि माइक्रोसफ्ट टिम र जुम जस्ता भिडियो कन्फरेन्सिङ एपले आमनेसामने मिटिङ गरिने चलनलाई प्रतिस्थापन गराइसकेका छन् । त्यस्तै कोभिड–१९ पछि दुनियाँभर देखा परेका प्राविधिक ट्रेन्डहरु सम्बन्धी विश्व आर्थिक फोरमको सुचीमा ‘डिजिटल पेमेन्ट’ , ‘इनटरनेट एक्सेस’ अनि ‘रोबोटिक्स’ लगायतकै कारण लकडाउनमा पनि हाम्रो समाज सञ्चालन गर्न सम्भव भएको देखिएको छ । पछिल्लो दशक वित्तीय सेवा, शपिङ प्रवृत्ति लगायतमा प्रविधिले वास्तवमै ठूलो बदलाव ल्याएको छ ।
यसरी प्रविधिको महत्वपूर्ण भूमिकाले आगामी दिनहरुमा पनि मान्छेको व्यवहार अनि चालचलनमा यस्ता ठूलाठूला परिवर्तन ल्याउँदै जाने विश्वविद्हरुको भनाइ छ । किनकि कतिपय यस्ता परिवर्तनहरु महामारी सकिएपछि पनि न्यु नर्मलका रुपमा रहिरहने निश्चित छ । जस्तै कोरोना भाइरसले निम्त्याएको अनिश्चितताका बीच कर्मचारीहरु कटौति गर्ने अनि तिनलाई रोबोटले प्रतिस्थापन गरिएको पनि धेरै खबरहरु आएका छन् । साथै घरबाट काम गर्ने प्रवृत्ति बढ्दै जाँदा कम्पनीहरु ठूलो ठाउँ छाडेर सानो अफिसमा सर्न थालेका छन् ।
यसले व्यवसायीहरुलाई दीर्घकालीन फाइदा पुर्याउन सक्ने हुँदा उनीहरुले महामारीपछि पनि यो जारी राख्न सक्छन् ।
कोभिड महामारीले शिक्षा क्षेत्रलाई पनि धेरै ठूलो स्तरमा प्रभाव पारेको छ । जस्तै पछिल्लो केही महिनाहरुमा १८६ मुलुकका १।२ अर्ब बालबालिका स्कुल नगइ बसेका थिए । शिक्षामा प्रविधिको प्रयोग, महामारी सुरु हुनुभन्दा अगाडि बिस्तारै बढ्ने क्रममा थियो तर कोभिडका कारण अचानक बालबालिकाहरुले आफूलाई यो नयाँ प्राविधिक दुनियाँमा समायोजित गराउनुपर्ने भयो ।
स्कुल कलेजहरुले परम्परागत प्रणाली छाडेर नयाँ प्रविधिको सहयोग लिँदै आइरहेको भए पनि पछिल्लो १०० वर्षमा शिक्षा प्रणालीले यति ठूलो परिवर्तन कहिल्यै देखेको थिएन । जसमा परीक्षा, नतिजादेखि ग्राजुएसन समारोहसमेत अनलाइनबाट सम्पन्न गरिएको छ । यसले पनि इन्टरनेट र प्रविधि, हरेक क्षेत्रमा कति ठूलो स्तरमा उपयोग भइरहेका छन् भन्ने प्रष्ट पारेको छ ।







