दाङमा कोरोना जोखिम : घाेराहीमा सञ्चालन भइरहेका वैकल्पिक सिकाइ कात्तिक १५ सम्म बन्द
दाङ – घोराही उपमहानगरपालिकाले कोरोना सङ्क्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरुमा भइरहेकाे सहजीकरणका क्रियाकलाप २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको आइतबार बसेको बैठकले नगरभित्र दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कात्तिक १५ गतेसम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
त्यसैगरी कक्षा ११ को परीक्षासमेत स्थगन गर्ने बैठकले निर्णय गरेको छ । तर शिक्षा महाशाखा एवं विद्यालयहरुको दैनिक प्रशासनिक काम भने यथावत् राख्ने निर्णय भएको छ ।
घोराही उपमहानगरपालिकामा अहिलेसम्म पाँच सय ४३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने तीमध्ये तीन सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।
प्युठानको नौबहिनी गाउँपालिकाले पनि शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा काेरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीमा रहेका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएकाे हो ।
जिल्ला प्रशासन कार्यालय दाङ पाँच दिन सिल
कार्यालयका एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।
कार्यालय सहयोगी एक महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पाँच दिनका लागि मुद्दा र शान्ति सुरक्षा बाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । अब ३० गते प्रशासन खुल्ने छ ।







