सापटीको मल ल्याउन अझै २ महीना लाग्ने

जनपत्र
२२ आश्विन २०७७, बिहीबार ०६:०१

नेपाल सरकारले बंगलादेशसँग सापटीमा लिन लागेको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन अझै २ महीना लाग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा लामो समय लाग्ने देखिएको हो । मल ढुवानी गर्न असोज ५ गते कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का आह्वान गरेको थियो । पाँचओटा कम्पनीले ठेक्का प्रस्ताव गरे पनि सबैभन्दा कम मूल्यमा प्रस्ताव गरेको जेन्ट्रेड एफजेडएफ नामक यूएईको कम्पनीले ठेक्का पाएको छ ।

जेन्ट्रेड कम्पनीलाई सम्झौताका लागि आउँदो शुक्रवारसम्मको समय दिइएको छ । ढिलोमा आइतवारसम्ममा सम्झौता हुन सक्ने कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेश सरकारले बंगलादेशको चटगाव बन्दरगाहबाट मल नेपाल ल्याउन अनुमति दिएको छ । बंगलादेश सरकारले चटगाव बन्दरगाहमा नेपाललाई मल हस्तान्तरण गरेपछि ठेकेदार कम्पनीले ढुवानी थाल्नेछ र करीब ७० दिनभित्र सबै मल नेपाल आइपुग्ने उनले बताए ।

बंगलादेश सरकारले उक्त बन्दरगाहमा मल उपलब्ध गराएको २० दिनभित्र पहिलो लट नेपाल आइपुग्ने बताइएको छ । तर, हालसम्म बंगलादेश सरकारले सो बन्दरगाहमा मल उपलब्ध गराएको छैन । धानबालीका लागि युरिया मलको चरम अभाव भएपछि सरकारले बंगलादेशसँग मल सापटी मागेको थियो ।

कृषि मन्त्रालयका अनुसार बंगलादेश सरकारले आफूलाई आवश्यक पर्ने करीब १० लाख मेट्रिकटन मल मौज्दात गरेको छ । उक्त मौज्दातबाट उसले नेपाललाई मल उपलब्ध गराउनेछ । यसरी ल्याइएको मल नेपाल सरकारले पछि ग्लोबल टेन्डर गरी ८ महीनाभित्र बंगलादेशलाई फिर्ता गर्ने योजना रहेको छ ।

कृषि सामग्रीले चालू आवमा मल खरीदका लागि तीनओटा टेन्डर आह्वान गर्दै छ । यसमध्ये अक्टोबर १२ र नोभेम्बर २ मा ३० हजार र ६० हजार मेट्रिकटन युरिया मलका लागि छुट्टाछुट्टै टेन्डर आह्वान गर्न लागिएको छ । त्यसैगरी ५ हजार मेट्रिकटन डीएपी मलका लागि टेन्डर आ≈वान गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*