दाङ राजधानी बनेको खुसियालीमा बाजागाजासहित दीपावली

जनपत्र
२१ आश्विन २०७७, बुधबार ०७:४२

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरे ।

नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरिएको थियो । प्रदेश राजधानी रहने देउखुरी उपत्यकाको भालुबाङमा सबैभन्दा ठूलो उत्साह थियो । स्थानीयवासी एकैठाउँ भेला भएर कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै बाजागाजासहित नाचगान गरेका थिए ।

घोराहीमा दाङ प्रादेशिक राजधानी सरोकार समितिको ब्यानरमा धन्यवाद तथा स्वागत र्‍याली आयोजना गरिएको थियो । यस्तै उद्योग वाणिज्य संघ, राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरुले पनि स्वागत र्‍याली निकालेका थिए ।

प्रदेशसभा बैठकबाट दाङ राजधानी र प्रदेशको नाम लुम्बिनी पारित भएलगत्तै दंगालीले ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा, नेपालको अद्यावधिक नक्सा र ब्यानर बनाएर खुसियाली मनाए भने बेलुकीपख चोक–चोकमा दीपावलीसमेत गरेका थिए ।

मंगलबार प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । यसअघि प्रदेश मन्त्रिपरिषद बैठकले देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ ले चर्चेको भूभागमा प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*