देशैभर खुले पर्यटकीय गतिविधि, घुमघाममा भने अझै अन्यौल

जनपत्र
१९ आश्विन २०७७, सोमबार ०९:५९

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढेको छ । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत बढ्न थालेको छ ।

नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका प्याकेजको तयारी र बिक्रीमा लागेका छन् । यसबीचमा सगरमाथा आधार शिविरसम्मको पदयात्रा, रारा ताल र पोखराका गन्तब्यमा नेपालीहरुको चासो बढी देखिएको छ । नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीका अनुसार १ असोजपछि देशैभर आन्तरिक पर्यटनका धेरैजसो गतिविधि सुचारु भएका छन् ।

पहिला व्यवसायी र सरोकारवाला निकायहरु नै घुमफिर गरेर पर्यटकीय माहोल बढाउने प्रयास भइरहेको छ । ‘आफैं सर्वप्रथम फिल्डमा गएर अनुभव गरेपछि मात्र आफ्ना पाहुनालाई राम्रो सेवा दिन सकिन्छ,’ सीइओ रेग्मी भन्छन्, ‘त्यसकारण पर्यटन व्यवसायीलाई नै घुमघाममा प्रोत्साहन गरिरहेका छौं ।’

सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेसँगै यससँग सम्बन्धित गतिविधि बढेको छ । अहिले बहराइनका १८ जनाको टोली सगरमाथा क्षेत्रमा छ । बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल चढिसकेको छ । अब सोही टोली मनास्लु हिमाल आरोहणमा जाने छ ।

पर्यटन विभागका अनुसार एक टोलीले यो सिजन हिमाल आरोहणका लागि अनुमति लिएको छ । पदयात्राका लागि भने विदेशबाट पर्यटक आइसकेका छैनन् । नेपालीहरुको चासो भने बढेको व्यवसायी बताउँछन् ।

घुमफिरका लागि आकर्षक प्याकेज ल्याएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सगरमाथा क्षेत्रका लागि धेरै नेपालीले दशैंमा घुमफिरको योजनासहित प्याकेज बुक गरिसकेका छन् । दोस्रो आकर्षण मुगुको रारामा देखिएको छ । तेस्रोमा कास्कीको घान्दु्रक यात्राका लागि नेपालीको बढी बुकिङ आइरहेको छ ।

देशैभर खुले होटेल

होटेल संघ नेपाल (हान)का अनुसार देशभरका मुख्य पर्यटकीय गन्तब्यका होटेल खुलेका छन् । यद्यपि, पाहुना भने छैनन् ।

देशभर क्वारेन्टिन भनि तोकिएका बाहेक अन्य होटेल पनि खुला भएको सन्देश प्रवाह गर्न होटलहरु खुलेको संघका सदस्य युवराज श्रेष्ठ बताउँछन् । ‘अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल खुल्यो भन्ने सन्देश दिन मात्र होटेल खुलेका छन्,’ श्रेष्ठ भन्छन्, ‘तर, पाहुना छैनन् ।’

उनका अनुसार पोखरा, चितवन र धुलिखेलमा भने नेपाली पाहुनाको आगमन बढ्न थालेको छ । सोहीअनुसार यी गन्तब्यमा व्यवसायीले पनि सस्तो प्याकेजमा सेवा बेच्न थालेका छन् ।

ठूला शहरबाट नजिकै रहेका गन्तब्यमा शुक्रबार र शनिबार पाहुना बढेको हानको भनाइ छ । चन्द्रागिरि रिसोर्टसहित काठमाडौं नजिकका रिसोर्ट, धुलिखेल, सौराह र पोखरामा आन्तरिक पर्यटक बढिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*