भीमफेदी दुर्घटनाः मृतकको सख्या तीन पुग्यो

जनपत्र
१८ आश्विन २०७७, आईतवार १९:०९

हेटौंडा । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते भएका छन् । हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको नाम खुलेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा झापाको जोरपानी गाउँपालिका बस्ने २५ वर्षीया देवीकुमारी गिरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी ९बस्ने २५ वर्षीय भिमबहादुर थिङ र मकवानपुरको राजन राना मगर रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी गिरीको भने हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने ३० वर्षीया शर्मिला थिङ, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २७ वर्षीय सोमबहादुर गुरुङ, रौतहट रङ्गपुर गाउँपालिका बस्ने २९ वर्षीय सुजनकुमार काफ्ले, सुमो चालक भीमफेदी–४ घर भई हाल सामरी बस्ने विष्णु मगर र नाम, ठेगाना नखुलेको अन्दाजी ५ वर्षीय बालक रहेका छन् ।

घाइतेमध्ये शर्मिला थिङ, सुजन काफ्ले र सोमबहादुर गुरुङलाई भने थप उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, सुमो चालक विष्णु मगरको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने ती ५ वर्षीय बालकलाई सामान्य उपचारपश्चात हेटौंडास्थित एक शिशुस्याहार केन्द्रमा संरक्षणको लागि जिम्मा लगाएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*