दुई वर्षमा इन्टरनेट प्रयोगकर्ता २३ प्रतिशत बढे

जनपत्र
१६ आश्विन २०७७, शुक्रबार ०८:२०

पछिल्लो दुई वर्षमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । दुई वर्षमा नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २३ प्रतिशत बिन्दुले बढेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । यो अवधिमा मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या पनि करिब १६ प्रतिशत बढेको छ । ०७५ असारमा ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड ४९ लाख ८१ हजार रहेकामा दुई वर्षमा यो संख्या बढेर २ करोड २२ लाख ३७ हजार पुगेको प्राधिकरणको तथ्यांक छ । प्रयोगकर्ता बढेसँगै इन्टरनेटमा पहुँच पाउने जनसंख्या प्रतिशत ७४।४३ पुगेको प्राधिकरणले जनाएको छ । यो ०७७ असारसम्मको तथ्यांक हो ।

करिब तीन चौथाइ जनसंख्यामा विद्युत् पहुँच पुगेको देखिए पनि फिक्स ब्रोडब्यान्ड इन्टरनेट भने १८ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । फिक्स ब्रोडब्यान्ड इन्टरनेटलाई विश्वसनीय र द्रुत गतिको इन्टरनेट मानिन्छ । प्राधिकरणको तथ्यांकअनुसार करिब ५५ लाख जनसंख्यामा मात्रै फिक्स ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । ४५ लाख ३४ हजार जनसंख्याले फाइबर टू दी होम ९एफटीटीएच० मार्फत इन्टरनेट पहुँच पाएको र साढे नौ लाख जनसंख्याले केबलमार्फत इन्टरनेटको पहुँच पाएको प्राधिकरणको तथ्यांक छ ।

फिक्स ब्रोडब्यान्डमा पहुँच भएको जनसंख्या धेरै देखिए पनि यो सेवाका वास्तविक ग्राहक भने ११ लाख ७१ हजार मात्रै छन् । एक परिवारले फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा लिएर त्यसमा करिब ५ जनाको पहुँच हुन्छ भन्ने मान्यताका आधारमा ५५ लाख जनसंख्यामा यसको पहुँच पुगेको तथ्यांक निकालिएको हो । पछिल्लो जनगणना अनुसार नेपालमा एक परिवारमा औसत ५ जना सदस्य हुन्छन् । फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा दिने सबैभन्दा ठूलो कम्पनी वर्ल्डलिंक कम्युनिकेसन र नेपाल टेलिकम हुन् । वर्ल्डलिंकका ग्राहक ३ लाख ७५ हजार र टेलिकमका फिक्स ब्रोडब्यान्डतर्फका ग्राहक करिब २ लाख ५० हजार रहेको प्राधिकरणको तथ्यांक छ ।

दुई वर्षको अवधिमा फोरजी इन्टरनेटका उपभोक्ता पनि करिब तीन गुणा बढेका छन् । प्राधिकरणका अनुसार दुई वर्षअघि फोरजी प्रयोगकर्ताको संख्या १७ लाख ७० हजार थियो । यो वर्षको असारसम्ममा फोरजी उपभोक्ताको संख्या ४७ लाख ९४ हजार नाघेका छन् । प्रायः फोरजी उपभोक्ता एनसेलका रहेको प्राधिकरणले बताएको छ । एनसेलका फोरजी ग्राहक ३७ लाख ४६ हजार र नेपाल टेलिकमका त्यस्ता ग्राहक ८ लाख ४३ हजार छन् । टेलिकमले डेढ वर्षअघिदेखि देशैभर फोरजी नेटवर्क विस्तार गरिरहे भए पनि उसका फोरजी उपभोक्ता भने विस्तार भएको देखिन्न । थ्रीजी सेवा उपयोग गर्नेको संख्या १ करोड १५ लाख ८९ हजार रहेको प्राधिकरणको तथ्यांक छ । यो सेवातर्फ भने सबैभन्दा बढी ग्राहक टेलिकमका छन् । टेलिकमको थ्रीजी सेवा लिनेको संख्या ८६ लाख २६ हजार र एनसेलको २९ लाख ६३ हजार छ । मोबाइल इन्टरनेटको प्रयोग गर्नेको संख्या जनसंख्याको ५५ प्रतिशत भए पनि मोबाइल प्रयोगकर्ताको संख्या भने जनसंख्याभन्दा बढी भएको प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका अनुसार टेलिकम, एनसेल र स्मार्ट टेलिकमका गरी नेपालमा कुल मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ७८ लाख ५९ हजार छ । यो सेवा प्रदायकहरूले जारी गरेको सिम कार्डको संख्याका आधारमा निकालिएको तथ्यांक हो । एकै उपभोक्ताले एकभन्दा बढी सेवा प्रदायकको सिम लिएको हुन सक्ने भएकाले यो तथ्यांक दोहोरिएको हुन्छ । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*