प्रहरी पेट्रोल पम्पमा ५ करोड हिनामिना, सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता

जनपत्र
१२ आश्विन २०७७, सोमबार ०७:०२

प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन। कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ।

पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असइ दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको हो। ‘सुरुमा असइलाई मात्र दोषी देखाउने गरी विषय शान्त पार्न खोजिएको थियो, तर भ्रष्टाचार ठूला देखिएपछि फराकिलो छानबिन सुरु भएको छ,’ प्रहरीको स्रोतले भन्यो।

यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान अघि बढाएका छन्। यो खबर सोमबारको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

असइ कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेका हुन्। त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ। सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता भएको छानबिनमा देखिएको छ। त्यतिवेला प्रहरी कल्याण कोषमा कार्यरत धेरै प्रहरी अधिकारी छानबिनमा तानिने अख्तियार स्रोत बताउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*