बिही गाउँमा गुपचुपमै रहस्यमयरुपमा श्रृङ्खलावद्ध हत्या , प्रहरीले थाल्यो अनुसन्‍धान

जनपत्र
१० आश्विन २०७७, शनिबार ०६:५८

गोरखाको बिही गाउँमा भएका श्रृङ्खलावद्ध हत्याका घटनाको बारेमा सोधपुछ गर्न नेपाल प्रहरीले सुरु गरेको छ। सोधपुछका लागि प्रहरीले चुमनुब्री गाउँपालिका–५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखामा झिकाएको छ।

चार दिनको पैदलयात्रापछि वडाध्यक्ष गुरुङ शुक्रबार जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका छन् । केही दिन अघि कुटपिटपछि मृत्यु भएकी ङिमा साङमोको घटनाको बारेमा सोधपुछ गर्न उनलाई बोलाएको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए।

वडाध्यक्षसितको सोधपुछको आधारमा घटनाको विषयमा थप अनुसन्धान सुरु गर्ने एसपी गुरुङले बताए । ‘वडाध्यक्षज्यू आज सम्पर्कमा आइपुग्नु भएको छ’, उनले भने, ‘हामी पहिलोचरणमा केही दिन अघिको घटनाको बारेमा अनुसन्धान गर्छौँ। त्यसपछि पुराना घटनाको अनुसन्धान गर्छौँ।’

दुईसाता अघि निर्घात कुटपिटपछि बिहीगाउँकी ५० बर्षीय ङिमा साङ्मोको मृत्यु भएको स्थानीयबासीले बताएका थिए। साथै यसअघि पनि सो गाउँमा आधा दर्जनभन्दा धेरैको हत्या तथा रहस्यमय मृत्यु भएको तर सबै गुपचुप रहेको बारे समाचार प्रकाशन भएको थियो।

‘प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा अध्ययन टोली गठन गरेर घटनाको बारेमा अध्ययन प्रक्रिया सुरु भइसकेको छ’, एसपी गुरुङले भने । घटनाबारे कसैबाट पनि जाहेरी नआएकाले अनुसन्धान प्रक्रियामा समस्या आएको प्रहरीले जनाएको छ।

‘भुसको आगो’ बनेका यस्ता घटनाको बारेमा गाउँभित्र चर्चा भए पनि आक्रमणको शिकार बन्ने डरत्रासका कारण स्थानीयबासी सार्वजनिक रुपमा बोल्न चाहँदैनन्।अन्नपूर्णबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*