थप १८ जनाको मृत्यु, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

जनपत्र
९ आश्विन २०७७, शुक्रबार ०७:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ नमुना परीक्षण गर्दा ५१३ महिला र ९८४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।

निको हुने दर बढेपनि संक्रमण दर बढेकाले खुशी भइहाल्ने अवस्था नरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन भन्छन्, ‘संक्रमण दर बढेर १४ प्रतिशत पुगेको अवस्थामा निको हुने दर बढेर के खुशी हुनु ? निको हुने बढेपनि सक्रिय संक्रमित बढेकै छन् ।’

स्वास्थ्य मन्त्रालयले पनि सक्रिय संक्रमितको सङख्या बढेर २५ हजार पुगे फेरि बन्दाबन्दी गर्ने सुझाव दिएको छ । यसले पनि खतरा नटरेको संकेत गरेको भन्दै उनले भने, ‘परीक्षण अझै बढाउनुपर्छ किनकी हाम्रो जोखिम अझै टरेको छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*