राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।
शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । सार्वभौम समानता र सबैको मानमर्यादाको प्रवद्र्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट, आतङ्कवादको अन्त्य, आणविक, रासायनिक, जैविक लगायत विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसङ्घको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीले बताउनुभयो ।