बागमतीमा कोरोना र बाढीपहिरोको विपत्तिले पारेको असर र न्यूनिकरणका लागि भएका विषयमा छलफल

जनपत्र
५ आश्विन २०७७, सोमबार २०:२४

हेटौंडा । प्रदेश सभा सचिवालय, बागमती प्रदेशको आयोजनामा सोमबार बागमती प्रदेशमा कोभिड १९ र बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले पारेको असर र न्यूनिकरणका लागि भएका प्रयासका विषयमा भिडियो कन्फ्रेन्स मार्फत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपालमा कोरोनाले निम्त्याएको विशम परिस्थितिका कारण संसद बैठक बस्न नसकेको अवस्थामा कोरोना प्रकोप तथा प्राकृतिक विपत्तिमा बागमती प्रदेश सरकारले विपद् ब्यवस्थापन तथा प्रकोप न्युनिकरणमा गरेको कामका विषयमा कार्यक्रममा जानकारी दिईएको थियो।प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा ब्यापक काम गरिरहेको मुख्यमन्त्री डोरमणी पौडेलले जानकारी दिनुभयो ।

प्रदेश सरकारले प्रदेशका विभिन्न ८ वटा जिल्लाहरुमा प्रदेश अस्पताल निर्माण गरी कोरोना नियन्त्रणमा लागि परेको बताउनुभयो। साथै प्रदेश सरकारले स्थानीय तह र संघीय सरकारसँगको समन्वयमा आईसोलेसन तथा क्वारेन्टाईन ब्यवस्थापन गरिरहेको र पिसिआर परिक्षणको दायरा बढाइएको बताउनुभयो ।

यसैगरि कार्यक्रममा बोल्नुहुदैँ प्रतिपक्षी दलका नेता माननीय ईन्द्र बहादुर बाँनीयाले सरकारले कोरोनाको महामारीले प्रभावित विभिन्न क्षेत्रमा दैनिक ज्यालादरी गर्ने मजदुरहरुलाई यो चाडपर्वको समयमा स्थानीय तहसँगको समन्वयमा आर्थिक रुपमै सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका माननीय सदस्यहरुले सरकारले थप जिम्मेवार भएर महामारी नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरि प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति देखिने गरि जनतामाझ विपत्तिको समयमा राहत र उद्वारमा लाग्नु पर्नेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयको तर्फबाट डा पुरुषोत्तम राज सेढाईले सामाजिक विकास मन्त्रालयबाट कोभिड १९ को सम्बन्धमा भएका कामको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले सञ्चालन गर्नुभएको थियो।कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका माननीय उपसभामुख राधिका तामाङ्ग विभिन्न विषयगत समितिका सभापतिहरु ,प्रदेश सभाका सदस्यहरु, प्रमुख सचिव डा मानबहादुर बिक , प्रदेश सरकारका मन्त्रालयका सचिवहरु लगायतको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*