नेपालीलाई नेपाली भूमीमै जान चीनले लगायो रोक, बलमिच्याई गरि भवन निर्माण गर्दै
चीनसँग जोडिएको सिमाना लाप्चा क्षेत्रको नेपाली भुभागमा कब्जा गरि चीनले एकतर्फी रुपमा भवन निर्माण गरेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली जमिन कब्जा गरि भवन निर्माण गरेको हो । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालभित्र पसी नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको हो।
शनिबार मात्र लाप्चा क्षेत्र पुगेर फर्किएका सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको बताए । लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ जान नदिएको उनले बताए ।
उक्त भवन के प्रयोजनका लागि निर्माण गरिएको हो भन्ने जानकारी पनि नभएको रावतले बताए । यसअघि २०६६ सालमा सोही स्थानमा चिनियाँ पक्षले तीन वटा भवन निर्माण गरेको भएपनि नेपाली पक्षको बिरोध पछि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकिएको भए पनि हाल थप नयाँ भवन निर्माण गरेका छन् ।
भवन बनेको क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत नदिएको तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहेको एक हप्ता अगाडि लाप्चा पुगेका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए ।
हाल भवन निर्माण भएको स्थान भन्दा ७-८ सय मिटर पर डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ भने त्यो सँगै नजिकै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ । जो हालसम्म पत्ता लगाउन नसकिएको नाम्खा वडा नम्बर ६ का वडा अध्यक्ष पाल्जोर तामाङले पनि बताए ।
नेपाली भुमीमा चिनियाँ पक्षले भवन बाएको जानकारी पाउने बितिकै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा यसबारे बुझ्न र सिमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षो टोली लाप्चा गएको छ । अहिले सुनेको भएपनि वास्तविकता के हो रु त्यही गएर जानकारी लिने र के भएको हो टुङ्गो लगाएर आउने प्रमुख जिल्ला अधिकारी गिरीले बताए । सो क्षेत्रको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र नाम्खा गाउँपालिकाका अध्यक्षको टोली उक्त क्षेत्रमा गएको हो।







