सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु

जनपत्र
३ आश्विन २०७७, शनिबार १९:०१

सर्लाही — सर्लाही सदरमुकाम मलंगवामा शनिबार दिउँसो २ बजेबाट आइतबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी भएको छ ।

मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद झडपमा परिणत हुन थालेपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

दुई समूहबीचको झडपपछि विश्वकर्मा पूजाको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । घटनालाई साम्य पार्न बिहानैदेखि दुई पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल जारी छ । दुवै पक्षबाट धेरै मानिसहरु जम्मा हुन थालेपछि अप्रिय घटना नहोस् भन्ने अभिप्रायले कर्फ्यु आदेश जारी गरिएको प्रजिअ पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*