बागमती सरकारद्वारा ३५५ परिवार मुसहरलाई घर हस्तान्तरण

जनपत्र
२ आश्विन २०७७, शुक्रबार १९:०७

सिन्धुली । बागमती प्रदेश सरकारले आबास विहीन मुसहर समुदायको लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३५५ वटा घर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले जनताको साथमा सरकार सधैं रहेको बताउनुभयो । बस्ती बिकाशलाई प्राथमिकता राखेर एकीकृत बस्ती बिकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेश सरकारको उपस्तिथि गाउँ गाउँमा हुन थालेको उहाँको भनाई थियो । निर्माण हुन बाकी रहेका स्थानमा पनि छिटो घरहरू निर्माण हुने उहाले जानकारी दिनुभयो ।

सरकारले जनता आवास कार्यक्रम अन्तर्गत एकीकृत बस्ती विकास अनुसार सिमान्तकृत समुदायका लागि घर निर्माण गरिएको उहाँको भनाई छ । सरकारले दुधौली नगरपालिका वडा नम्बर ४ मा ९ वटा, वडा नम्बर ५ मा ४ वटा, ६ नम्बर वडामा २ वटा, ७ नम्बर वडामा ३० वटा, ९ नम्बरमा १८० वटा, १० नम्बर वडामा ५० नम्बर ११ वडामा ८० वटा घर निर्माण गरीएको शहरी बिकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । ११ करोड २२ लाख रुपैयाँ लागतमा घर निर्माण भएको जानकारी दिनुभयो ।

हाल दुधौलीमा ५९० परीवार लाभग्राही रहेको उहाँले जानकारी दिनुभयो । अन्य लाभग्राहीका लागि थप प्रदेश सरकारले निर्माण गरेको नगरपालिकाका ३५५ वटा घर भएको मुसहर बस्तीको घरको साँचो संविधान दिवशको अवसर पारेर मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकारले आबास विहीन अति सिमान्तकृत माझी, मुसहर, बोटे र चेपाङलगायतका लागि प्रदेशका अन्य स्थानमा पनी एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयाल, प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य, प्रदेश सभा सदस्यलगायत सहभागी हुन्हुन्थ्यो ।

कार्यक्रममा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले नगरपालिकामा विपन्न मुसहर समुदायका सात सय ५० घर निर्माण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा तीन सय ५५ घर निर्माण सम्पन्न भइ सम्बन्धित परिवारलाई साँचो हस्तान्तरण गरिएको बताउनुभयो ।

भवन निर्माण गर्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गाप्रसाद घिमिरेले जनता आवास कार्यक्रम अन्तर्गत दुधौली नगरपालिकामा मुसहर बस्तीमा दुई वर्षअघि घर बनाउन सुरु गरेको जानकारी गराउनुभयो ।  रङ्गीन जस्तापाताले लहरै बनेका घरले मुुसहरको नमुना बस्ती यतिखेर उज्यालिएको उहाँको भनाइ थियो ।

हुरी बतास, आगलागी र सर्पको त्रास खेप्दै आएका सिन्धुलीको दुधौली नगरपालिकाका मुसहर समुदायका व्यक्ति दुई कोठे पक्की नयाँ घरमा बस्न पाएपछि खुसी भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*