सिन्धुपाल्चोक : ‘भूकम्पले क्षति गरेको खबर छैन, तर जोखिम बढायो’

काठमाण्डाै – सिन्धुपाल्चोककको बाह्रबिसे नगरपालिकाको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले काठमाण्डौसहित अरु जिल्लामा पनि धक्का महसुस भयो ।
तर २०७२ सालको भूकम्पले सबैभन्दा बढी असर गरेको, धाँजा फाटेकाले अहिले पनि बाढी पहिरोले धनजनको क्षति पुर्याइरहेको सिन्धुपाल्चोकमा यो भूकम्पको धक्काले थप जोखिम भने बढाएको छ ।
बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रीनले अहिलेसम्म ठूलो खालको नोक्सानी भएको खबर नआएको र आफूले थप बुझ्ने प्रयास गरिरहेको बताउनुभयो । तर भूकम्पले पहिरोको जोखिम बढाएकाले आवश्यक सतर्कताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । उहाँले विभिन्न ठाउँमा सम्पर्क गरिरहेको पनि बताउनुभयो ।
पहिरोको जोखिम थप बढेकाले तयारी अवस्थामा छौँ : प्रमुख जिल्ला अधिकारी ढकाल
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पपछि पहिरोको जोखिम थप बढेकाले सम्भावित घटनाप्रति तयारी अवस्थामा रहेको उज्यालोलाई जानकारी दिनुभयो । जिल्लाका सबै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेको उहाँले बताउनुभयो । भूकम्प गएको ठाउँको अवस्थाबारे थप जानकारी लिइरहेको पनि उहाँले बताउनुभयो ।