सांसद पूर्वाधार कार्यक्रमको बजेट पार्टी कार्यालयमा खर्च

पूर्व सभामुख कृष्णबहादुर महरा र प्रदेश ५का लागि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अर्जुन श्रेष्ठले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि पाएको रकम आफ्नो पार्टीको कार्यालयका लागि खर्चिएका छन्।
महराले विनियोजित रकम मध्येबाट ५० लाख र श्रेष्ठले २५ लाख खर्चेर पार्टीको सभा हल बनाएका छन्।
दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित महराले उक्त रकम घोराहीस्थित शहिद नेत्र गुम्ह्रा स्मृति भवनको सभा हल निर्माणमा खर्च गरेका हुन्।
नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले सामाजिक सञ्जाल मार्फत महराको निर्वाचन क्षेत्रमा विनियोजित ५० लाख रकमले थालेको सभाहल निर्माण पुरा जानकारी दिएका छन् ।
अध्यक्ष खड्काले द्रोर्ण पाण्डेको सहयोगबाट गेट निर्माण गरिएको जानकारी पनि दिएका छन्।
अझैं भवनको भित्रि भागको रंग रोगन गर्न बाँकी रहेको उनले उल्लेख गरेका छन्।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य श्रेष्ठले पनि घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा ‘खुमबहादुर खड्का’ सभाहल निर्माण गर्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट २५ लाख रूपैयाँ रकम उपलब्ध गराएका छन् ।
‘हामीले ३० लाखको जग्गा किन्यौं त्यसैमा स्वर्गीय नेता खुमबहादुर खड्काको नामबाट सभाहल निर्माणको काम पुरा गरि सकेका छौं,’ जिल्ला सभापति खड्काले भने ‘भवन बनाउन अपुग अरू रकम सक्रिय सदस्यबाट उठाएका हौं।’
सित्तैमा वितरण गर्नुपर्ने क्रियाशिल सदस्य आफुहरूले सोही भवन निर्माण गर्नकै लागि तीनसयका दरले वितरण गरेको सभापति खड्काले जानकारी दिए।