समयमै मल नल्याउने दुई कम्पनीमाथिकाे कारबाही अघि नबढाउन उच्च अदालत पाटनकाे अल्पकालीन आदेश

जनपत्र
३० भाद्र २०७७, मंगलवार ०६:१२

सम्झौताअनुसार रासायनिक मल नल्याएर अभाव सिर्जना गराउने दुई ठेकेदार कम्पनीविरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेज तथा बैंक ग्यारेण्टी जफतको कारबाही कार्यान्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ ३१ गते बोलाएको छ । समयमै मल नल्याएर अभाव सिर्जना गरेको भन्दै कृषि सामग्री कम्पनीले भदौ २१ गते शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीसँगको मल खरिद सम्झौता खारेज गरेको थियो । त्यस निर्णयविरुद्ध ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।

यस्तै कृषि सामग्री कम्पनी लिमिटेडले सोमबार मात्रै सम्झौताअनुसार रासायनिक मल नल्याउने ती दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*