नेकपा बैठक सकियो तर निर्णय कार्यन्वयनमा शंका कायमै

जनपत्र
२७ भाद्र २०७७, शनिबार ०६:३५

काठमाडौँ — झन्डै तीन महिना लामो विवाद र नाटकीयरुपमा बदलिँदो समीकरणकाबीच नेकपा स्थायी कमिटी बैठक सकिएको छ । पार्टी एकताको सुदृढीकरणदेखि दुई अध्यक्षको कार्यविभाजन, विधि–पद्धतिमा पार्टी चलाउनदेखि मन्त्रिपरिषद् पुनगर्ठनसम्मका १५ बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार स्थायी कमिटी बैठक सकिएको छ ।

अध्यक्षद्वयले ल्याएको प्रस्तावमाथि शुक्रबार नेताहरुले व्यक्त गरेका सुझाव र लिखित सुझावलाई समेत समेटर अन्तिम रुप दिने गरी पारित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । कार्यदलले बुझाएको प्रतिवेदन परिमार्जन गर्दै अध्यक्षद्वयले तयार पारेको प्रस्ताव थप परिमार्जनसहित पारित गरेर बैठक टुंगाइएको हो ।

नेकपाभित्रको अहिलेको विवाद हल गर्ने गरी बैठक टुंगिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता सुदृढ भएको बताएका छन् । तर, बैठकले पारित गरेका प्रस्ताव विगतमा जस्तै पूर्णत कार्यन्वयन हुने विषयलाई लिएर कतिपय शीर्ष नेताकै आंशका छन् । त्यसैले अब केही समय निर्णय कार्यन्वयनको अवस्था हेर्ने र त्यसपछि थप रणनीति बनाउने उनीहरुको योजना छ ।

बैठकको प्रारम्भमै बोलेका अध्यक्ष ओलीले देशी–विदेशी र प्रतिक्रियावादी शक्तिहरुको पार्टीलाई कमजोर बनाएर तोडफोड गर्ने चाहना राखे पनि पूरा नभएको बताएका थिए । ‘हामीले उनीहरुको योजना असफल पारिदिएर सटिक जवाफ दिएका छौं । र यो नयाँ उचाईसहितको एकता र संकल्पको बैठक हो । बैठकले पार्टी भित्रको समस्या र अन्तर्विरोधलाई समाधान गरेको छ,’ ओलीको भनाई उद्धृत गर्दै बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकता बचेको बताएका थिए । ‘बैठकले दुर्घटनाबाट पार्टीलाई बचाएको छ । पार्टी एकतालाई सुदृढ गर्दै अगाढि बढ्ने र विचारको बहस गरेर वैचारिक संश्लेषण पनि गर्ने ढोका खोलिदिएको छ । त्यसकारण यसलाई सफल मान्नुपर्छ’ दाहालले भनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*