धरहराको चौधौँ तलाको काम सकियो, टावरको काम ६५ प्रतिशत पूरा
धरहराको चौधौँ तलाको काम सकिएको छ । चौधौँ तलाको भुइँ ढलानको काम बिहीबार सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । चौधौँ तलाको ९सियर वाल० अर्थात् गोलो गारोको ढलान भने गएको शनिबार सकिएको थियो । देशव्यापी रुपमा लगाइएको लकडाउन हटेपछि धरहरामा धमाधम काम भइरहेको छ ।
निषेधाज्ञाको बेलामा पनि निर्माण सामग्रीको अभाव नभएकाले काम धमाधम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनु भएका राजुमान मानन्धरले जानकारी दिनुभयो । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ । धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहरामा टावर निर्माणको काममध्ये ६५ प्रतिशत सकिएको छ । समग्र धरहरा पुनर्निर्माणको काम भने झण्डै ४२ प्रतिशत भइसकेको छ ।
लकडाउन खुलेपछि धरहरा पुनर्निर्माणमा झण्डै डेढ सय कामदारले नियमित काम गर्दै आएका छन् । गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै धरहराको पुनर्निर्माणमा खटिएका कामदार घर गएका थिए । तर काठमाण्डौमा लकडाउन खुकुलो भएपछि कामदारलाई ल्याइएको थियो । उनीहरुको कोरोना परीक्षण गरी काममा खटाइएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो । उज्यालोबाट





