‘पेश्की माग्दा शरीर मागे, धम्क्याउँदै यौन शोषण गरे !’

जनपत्र
२५ भाद्र २०७७, बिहीबार १०:१४

पोखरा । श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् ।

आर्थिक अवस्था कमजोर भएकी ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा ती महिलाले पेश्की माग्थिन् तर प्रमुखले अनेक सर्त राख्न थाले ।

यौन इच्छा पूरा गर्न दिए अस्पतालबाट पेश्की मिलाइदिने भन्दै डर धम्कीमात्रै देखाएनन्, कोठामै पुगेर अभद्र व्यवहार गर्न लागेको ती महिलाको आरोप छ । आर्थिक हिसाबले कमजोर ती महिलाको लेखा प्रमुखका अघि केही जोर चलेन । यस्तै घटना ४/५ वर्ष चलिरहेको ती महिलाको आरोप छ ।

अति भएपछि गत शुक्रबार ती महिलाले अस्पताल प्रशासनमा उजुरी दिइन् । अस्पतालका लेखा प्रमुखले डर, धम्की, प्रलोभन देखाएर यौन शोषण गरेको र घटना बाहिर ल्याए जागिर नै खाइदिने बताएको महिलाको आरोप थियो ।

अस्पताल प्रशासनले लेखा प्रमुखलाई तत्काल निलम्वन गर्यो र अनुसन्धानको प्रक्रिया अगाडि बढायो । अस्पतालले मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । समितिले छानबिन गरी दोषी उपर कारबाही गर्ने र सत्यतथ्य बाहिर ल्याउने अस्पतालले बताएको थियो ।

यसैबीच प्रहरीमा जाहेरी नदिन दबाब दिइएको र भित्रभित्रै मिलापत्र गराउन खोजिएको घटना सार्वजनिक भयो ।

जब यो घटना बाहिर आयो, लेखा प्रमुखबाट यस्तै शोषणमा परेको भन्ने अरु महिला पनि थपिए । ३१ र ३७ वर्षीया महिलालाई बलात्कार आरोपमा प्रहरीमा जाहेरी नै पर्यो । अस्पतालबाट पेश्की माग्दा लेखा प्रमुख सुवेदीले अनेक बहाना बनाएर यौन शोषण गरेको महिलाहरुको आरोप छ ।

‘पेश्की माग्न जाँदा शरिर माग्थे, घरमै आएर मनपरी गरे । घटना बाहिर ल्याए जागिरै खाने धम्की दिन थाले,’ पीडित महिलाले भनिन्, ‘यसरी ४/५ वर्षसम्म शोषण गरिरहे । अति भएपछि उजुरी गरेकी हुँ । अझै पनि केही हुने हो कि मनमा डर छ ।’

दुई महिलाले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले आरोपी लेखा प्रमुखलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । ‘पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘महिलाको मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*