काठमाण्डौमा आजदेखि निषेधाज्ञा खुकुलो : के खोल्न पाइन्छ, के पाइँदैन ?
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा तीन हप्तादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।
नागरिकको जीविका सहज बनाउन भन्दै आवश्यक मापदण्ड तयार पारेर उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय भएको हो । आज बिहीबारदेखि स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी जोर-बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइनेछ ।
१६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडीमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीमा चालकसहित बढीमा तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म लैजान सकिनेछ ।
अत्यावश्यक तथा खाद्यान्न, तरकारी, फलफूल र माछामासु लगायत मालबाहक तथा ढुवानीका गाडीलाई जोर-बिजोर प्रणाली लागू हुनेछैन । यस्ता गाडीले चालक र सहयोगी सहचालक बाहेक अन्य व्यक्तिलाई बोक्न पाउने छैनन् । उपत्यकामा सञ्चालित खाद्यान्न थोक तथा किराना, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा-मासुलगायत पसल बिहान ५-११ बजेसम्म र साँझ ५-७ बजेसम्म खोल्न पाउने व्यवस्था लागू गरिएको छ ।
भौतिक पूर्वाधार तथा विकास निर्माण सामग्री, पसल तथा व्यवसायलगायत ढुवानीका गाडी दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै अनलाइन सेवामार्फत वस्तु, परिकार तथा अरु सेवाको लागि १२ देखि साँझ ७ बजेको समय निर्धारण गरिएको छ ।






