बारीमै कुहिन थाल्यो स्याउ

जनपत्र
२५ भाद्र २०७७, बिहीबार ०५:५६

रुकुम पूर्वका दुर्गम गाउँहरूमा उत्पादन भएको स्याउ बारीमै कुहिन थालेको छ । बजार पाउन नसक्दा किसानको बारीमै स्याउ कुहिन थालेको हो । जिल्लाको उत्तरी पुर्वी रुकुमको गाउँ गाउँमा उत्पादन भएको स्याउ स्याउ बगैंचामै कुहिन थालेको हो । विशेषगरी पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गत रन्मामैकोट, तकसेरा, कोल, राङसी र सिस्ने गाउँपालिकाका सिस्ने, जाङ र आठबिकोट नगरपालिकाको स्यालाखदीमा उत्पादित स्याउले बजार पाउन सकेको छैन ।

स्याउ बोटमै कुहिन थालेपछि व्यावसायिक खेती गरेका किसान चिन्तामा परेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण एक ठाउँबाट अर्को स्थानमा आवजजावत बन्द भएपछि स्याउको बजारीकरणमा समस्या भएको हो । यस्तै स्याउ उत्पादन क्षेत्रसम्म मोटरबाटो नभएको र भएको ठाउँमा पनि वर्षात्का कारण भत्किएपछि रुकुमको दुर्गम गाउँका स्याउ बोटमै कुहिन थालेको पुथाउत्तरगंगा गाउँपालिका वडा २ का किसान लजिम पुनले बताए । ‘पूर्वी रुकुममा उत्पादन भएको स्याउले बजार नपाउँदा हामी मर्कामा परेका छौं ।’

गतवर्षहरूमा यातायातका साधन नचले पनि घोडा तथा खच्चडमार्फत रुकुमका बजारहरूमा स्याउ ढुवानी गरेर विक्री गर्ने गरिएको थियो । तर यस वर्ष गत चैतदेखि नै कोरोना भाइरसको संक्रमणका कारण गाउँ र बजारको सम्बन्ध विच्छेदझैं भएको स्थानीयले बताएका छन् ।

भौगोलिक विकटताका कारण यातायातको सहज पहुँच नभएको र गाउँमा स्याउ भण्डारण केन्द्रको अभावले स्याउको बजारीकरणमा समस्या भएको छ । स्याउ विक्री नहुँदा लगानी समेत डुबेको पुथाउत्तरगंगा–११ की कल्पना बुढाले बताइन् । बोटमै स्याउ कुहिन थालेपछि गाईभैंसीलाई खुवाउनुका साथै मदिराको बनाउन थालिएको उनको भनाइ छ ।
गतवर्षको तुलनामा यस वर्ष स्याउको उत्पादनमा केही वृद्धि हुने अनुमान किसानले गरेका छन् । समयमा पानी परेकाले स्याउ उत्पादन बढेको उनीहरूको भनाइ छ । गाउँमा स्याउ कुहिन थाले पनि रुकुमका बजार भने चिनियाँ स्याउले ओगटेको छ । रुकुम पूर्वको ८३ हेक्टर क्षेत्रफलमा स्याउको व्यावसायिक खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुकुमले बताएको छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*