असह्य भएपछि सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली
काठमाडौँ — साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
स्वदेश फिर्तीका लागि साउदी अरबमा मात्रै दिनमा ५ वटा उडान हुनुपर्ने उनीहरूको माग छ । सरकारले भने सेप्टेम्बरका लागि १३ वटा उडान मात्रै स्वीकृति दिएको छ । ‘घर फर्कने दिन पर्खेको ७ महिना भयो । कहिले जान पाउने हो, अझै निश्चित भएन । दूतावासमा फोन गर्दा कम्पनीलाई देखाउँछन्, कम्पनीलाई भन्दा दूतावासमा बुझ्नु भन्छन्,’ मकवानपुरका सन्दीप गोलेले मंगलबार टेलिफोनमा कान्तिपुरलाई भने, ‘हामी बाध्य भएर आफ्नै देशलाई तल पार्ने गरी नाराबाजीमा उत्रनुपर्यो । सडकमा जानुपर्यो ।’
गोले आबद्ध साउदी म्यानपावर सप्लाई कम्पनी (समस्को) ले मात्रै झन्डै एक हजार नेपालीलाई स्वदेश फर्काउन रियादस्थित क्याम्पमा राखेको छ । समस्को साउदीका विभिन्न कम्पनीको मागअनुसार श्रमिक उपलब्ध गराउने ठूलो कम्पनी हो । ‘क्याम्पका ११ वटा भवनमा झन्डै ६ हजार श्रमिक छन् । तिनमा सबैभन्दा बढी नेपाली नै छन् । काम दिन नसकेपछि क्याम्पमा ल्याएर राखिएको हो । यसबीचमा एकसुको तलब दिइएको छैन । खाना र बस्न मात्रै दिइन्छ । हामी कति दिनसम्म यसरी खाँदिएर बस्ने ?’ गोलेले भने । आफ्नो समस्याका विषयमा नेपाल सरकारले वास्ता नगरेको उनले गुनासो गरे । ‘त्यही भएर साउदीमै चर्को नाराबाजी गर्नुपर्ने बाध्यता आइपर्यो । प्रहरी पनि आए । केही साथीलाई समातेर पनि लगे तर पछि छाडिदिएछन् ।’ गोलेका अनुसार उक्त कम्पनीमा झन्डै दुई सय जना नेपाली महिला छन् ।
‘एउटा कोठामा ११ जनालाई कोचेर राखिएको छ । भुइँमै सुताइएको छ । खाना खाने बेला भीड हुन्छ । पुग्ने खाना दिँदैनन्, थपेर खान पाइँदैन । खाना नपुगेर सधैं झगडा हुन्छ । पिउने पानी पनि आफैंले किनेर ल्याउनुपर्छ । कहिलेकाहीँ नुहाउने पानी नै पिउनुपर्छ,’ खोटाङका पदमबहादुर भुजेलले भने, ‘अहिले पैसा पनि छैन, कति दिनसम्म यसरी सहने ?’
मरुभूमिको बीचमा रहेको यो क्याम्पमा रहेका केही कामदारमा मानसिक समस्यासमेत देखिन थालेको वीरगन्जका एमडी इमान साहले बताए । ‘मन भुलाउन डाटा किनेर युट्युब हेर्दै दिन कटाउँछौं । एक जना साथीले त आत्महत्या पनि गरे,’ उनले भने ।






