हेलम्बुमा रू. २ करोड ३५ लाख लागतमा बञ्जीपुल बन्दै
सिन्धुपाल्चोकको मनोरम स्थल हेलम्बुमा साहसिक खेल बञ्जीजम्प निर्माण हुने भएको छ । रू। २ करोड ३५ लाख लागतमा बञ्जी जम्पका लागि आवश्यक झोलुंगे पुल निर्माणको ठेक्का सम्झौता भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावामा निर्माण गरिने बञ्जीजम्पका लागि आवश्यक झोलुंगे पुलको उचाई १७३ मिटर र लम्बाई ३७० मिटर हुनेगरी सम्झौता भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । बञ्जी निर्माणका लागि उमा÷थानी हिमशिखर जेभीसँग सम्झौता भएको हो । १ वर्ष ६ महीनामा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
सम्झौता गरिएको निर्माण कम्पनीका ठेकेदार नरहरि खड्काका अनुसार बञ्जीपुल निर्माणको कार्य दशैंपछि शुरू गरिने छ । ‘अहिले कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएकाले काम दशैंपछि मात्रै शुरू गर्छौं’, खड्काले भने, ‘गएको असारबाट १८ महीनाभित्र सक्नुपर्ने सम्झौता भएको छ । सम्झौता समय अगाडिनै हामी बञ्जी पुल तयार गरिसक्छौं ।’ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालसँग २०७८ पुस मसान्तभित्र काम सक्ने गरी सम्झौता भएको हो ।
निर्माण गरिने झोलुंगे पुलले स्थानीय पाङगाङमा र धवागाङ २ ओटा गाउँलाई जोड्छ । पुल तयार भएपछि एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदै आएको झण्डै ५ घण्टाको समय बचत हुनाका साथै उकाली ओरालीको कष्टकर यात्राबाट समेत मुक्ति पाउने गाउँपालिकाका सव–इन्जिनीयर शेरबहादुर राईले बताए । झोलुंगे पुल तयार भएपछि बञ्जी जम्पको काम थालनी हुने गाउँपालिकाको भनाइ छ ।
पुल तयार भएपछि त्यहाँस्थित सेमी सिताङ हिमालका साथै नजिकै रहेको मेलम्ची खानेपानी आयोजनाको अम्वाथानस्थित मुहान क्षेत्रको समेत अवलोकन गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ । गाउँपालिकाले बञ्जीका लागि गएको वर्ष डा। एनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने जिम्मा दिएको थियो । प्रतिवेदनले बञ्जी निर्माण हुन रू। ५ करोड ३९ लाख लाग्ने अनुमान गरेको छ ।
हेलम्बु क्षेत्रको विकास पर्यटनबाट सम्भव देखिएकाले आफूले त्यतातर्फ ध्यान केन्द्रित गरेको अध्यक्ष शेर्पा बताउँछन् । ‘हेलम्बुको पर्यटनसँग आत्मीय साइनो छ । यहाँ विभिन्न प्रजातिका लालिगुराँस र रेडपाण्डा समेत पाइन्छ । प्राचीन गुम्बाहरू भएकाले हेलम्बुको विकास सोचेका छौं’, उनले भने, ‘बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आफू निर्वाचित भएर आएदेखि बञ्जी निर्माण गर्ने परिकल्पना गरेको थिएँ ।’
धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको हेलम्बुमा पर्यटकलाई आकर्षित गराउने उद्देश्यले चीनको ग्रेटवालको झल्को दिने खालको कुल ६० किलोमिटर हिमालय ग्रेट ट्रेलको ९पदमार्ग०समेत निर्माण भइरहेको बताउँदै हेलम्बुको पहिचान जोगाउन स्याउ खेतीलाई प्राथकिता दिई खेती शुरू गरिएको उनले बताए । ‘बञ्जी जम्प निर्माण भएपछि हेलम्बुको सौन्दर्य झन् बढ्ने विश्वास लिएको छु’, शेर्पाले भने ।राजधानीडेलीबाट





