निःशुल्क दिनुपर्ने रेम्डेसिभिरमा पैसा असुल्दै अस्पताल
कोभिड- १९ को उपचारमा प्रभावकारी मानिएको औषधि रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’मा अस्पतालहरूले बिरामीबाट पैसा असुल गरिरहेका छन्। सरकारले प्लाज्मा थेरापी सुरु गरेका कोभिड अस्पतालहरूमा निःशुल्क रेम्डेसिभिर प्रयोग गर्ने निर्णय गरे पनि निजी तथा सरकारी अस्पतालले बेच्ने गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
सरकारले अस्पतालहरूलाई भनेको छ, ‘बिरामीको अवस्था हेरेर रेम्डेसिभिर किनेर दिनुहोस्, त्यसमा लागेको खर्च हामी व्यहोर्नेछौँ ।’ सरकारले रेम्डेसिभिरको पैसा दिन्छ भन्नेमा अस्पतालहरू विश्वस्त छैनन् । त्यसैले क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर आफूले किनेर बिरामीलाई बेच्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख डा।।सागर राजभण्डारीले आफूहरूले खरिद गरेकै मूल्यमा बिरामीलाई बेचेको बताए ।
‘रेम्डेसिभिर प्रयोग गरेको पैसा स्वास्थ्य मन्त्रालय वा एनएचआरसी कसले दिने हो अहिलेसम्म यकिन भएको छैन,’ डा।राजभण्डारीले भने, ‘बिरामी बचाउनु चिकित्सकको दायित्व भएकाले हाम्रा बिरामीलाई आफैँले किनेर बेचेका छौँ ।’ ‘क्लिनिकल ट्रायल’मा रहेको औषधि प्रयोग गर्न निःशुल्क उपलब्ध हुन्छ । बरु औषधि उत्पादक कम्पनीले सम्बन्धित देशको अनुसन्धान संस्थालाई ठूलो रकम उपलब्ध गराउँछ । तर, यो रेम्डेसिभिरको क्लिनिकल ट्रायलमा भने सरकारले नै बिरामीलाई ठगिरहेको छ ।






