राजनीतिमा महराको ‘कमब्याक’ कोसिस !

जनपत्र
२२ भाद्र २०७७, सोमबार २०:३१

काठमाडौँ — संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट ५ फागुनमा सफाई पाए । लगत्तै उनको निलम्बनमा परेको सांसद् पद फुकुवा भयो । सफाइपछि महरा चलिरहेको संसद बैठकतिर लागेनन् ।

महरा आफैं पनि राजनीतिमा चाँडै फर्किने बताउँछन् । ‘राजनीतिमा फर्कन्छु । पार्टीको औपचारिक निर्णयको प्रतिक्षामा छु,’ उनले संक्षिप्त प्रतिक्रियामा भने । पार्टी निर्णयपछिमात्रै थप संवाद गर्ने उनको भनाई छ ।

महरालाई फेरि सक्रिय राजनीतिमा ल्याउने तयारी नेकपाभित्र भएको छ । नेकपाका केही नेताले निवासमै पुगेर महरासँग भेट गरेका छन् । उनलाई सक्रिय पार्टी राजनीतिमा ल्याउन र त्यसैअनुसारको भूमिका दिनुपर्ने आवाज नेकपामा उठेपछि उनलाई ल्याउने तयारी छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ महरालाई अदालतले सफाई दिइसकेकाले उनलाई पार्टीले उपयुक्त जिम्मेवारीमा ल्याउनु पर्ने बताउँछन् । ‘उहाँ पार्टीको सिनियर कमरेड हो । जुन अभियोग लागेको हो, त्यसमा अदालतबाट उहाँले सफाई पाइसक्नु भएको छ । त्यसैले उहाँका सन्दर्भमा पार्टीले उपयुक्त जिम्मेवारीका बारेमा सोच्नु आवश्यक हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

३० दिन प्रहरी हिरासत र १ सय ३ दिन डिल्लीबजार कारागारमा बिताएपछि दाङ, रोल्पा र प्युठान पुगेका महराले प्रायः सबै ठाउँमा आफूलाई राजनीतिक षड्यन्त्र गरेर फँसाइएको दाबी गरेका थिए । ‘अदालतले न्याय दिएको छ, त्यहीँ कुरा साट्न तपाईंहरूसँग आएको छु,’ उनले सबै ठाउँमा भने । सक्रिय राजनीतिमा हुँदा महरा यसरी कमै जनसम्पर्कमा जान्थे, केन्द्रीय राजनीतिमै व्यस्त रहन्थे ।

रोल्पाको एक पुस्तकालय उद्घाटनमा महराले आफ्नो ‘जेल यात्रा’ नामक पुस्तक आउन लागेको जानकारी गराए । कोरोनाकालमा पनि महराको त्यहाँ सक्रियता रह्यो । महराको यो सक्रियताको कारण उनी पुनः सक्रिय राजनीतिमा फर्कने तयारीमा रहनुलाई बताइएको छ ।

उनले जिल्ला अदालतबाट सफाइ पाए पनि यो मुद्दा पुरनावेदनमा जाने सम्भावना भने बाँकी नै छ । कोरोना महामारीका कारण यो मुद्दा पुनरावेदनमा जान रोकिएको हो । मुद्दा पुनरावेदनमा गए पनि कानूनी रुपमा त्यसले उनलाई पार्टीमा सक्रिय हुन नरोक्ने कानूनविद्ले बताएका छन् । तर एकथरी राजनीतिक विश्लेषक भने राजनीतिमा सबै कुरा कानूनीमात्र नहुने भन्दै गम्भीर किसिमको आरोप लागेकाले सामाजिकरुपमा उनको स्वीकार्यता कति होला त्यो पनि हेर्नुपर्ने बताउँछन् ।

एमसीसी प्रकरणमा प्रधानमन्त्री ओलीको चाहनाअनुसार अगाडि नबढेपछि महरा र प्रधानमन्त्रीको सम्बन्ध बिग्रिएको थियो । यसैलाई संकेत गर्दै उनले ‘व्यवस्था परिवर्तनका लागि आफूले ठूलो योगदान गरेको भए पनि यहीँ व्यवस्थाभित्रका केही मान्छेको षडयन्त्रको आफू सिकार भएको’ बताएका थिए ।

‘उनलाई पार्टी राजनीतिमा ल्याउनेबारे अनौपचारिक रूपमा सचिवालय र स्थायी कमिटीका नेताहरूबीच चर्चा पनि भएको छ । छिट्टै निर्णय आउन सक्छ,’ एक सचिवालय सदस्यले भने । उनका अनुसार महरालाई स्थायी कमिटीमा ल्याउने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*