सेनाको वीरदल गणले एकैदिन तयार पार्याे २२५ शय्याको आइसोलेशन
भक्तपुर – नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकैदिनमा दुई सय २५ शय्याको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र उनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारिएको हो ।
नेपाली सेनाको उपत्यका पृतना अन्र्तगत वीरदल गणले सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा रहेको क्याम्पसको बीबीए ब्लकमा एक सय ५० र सूर्यविनायकमा रहेको वीरदल गणमा ७५ शय्या गरी दुई सय २५ शय्याको आइसोलेशन वार्ड तयार पारेको हो ।
वीरदल गणका गण प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले एकैदिनमा महाविद्यालयको भवनको २५ वटा कोठामा एक सय ५० शय्याको आइसोलेशन वार्ड तयार पारेको बताउनुभयो ।
यहाँ मङ्गलबारदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार सुरु गरिने र सूर्यविनायकमा तयार पारिएको ७५ शय्याको आइसोलेशन भने सोमबार नै सङ्क्रमित सैनिकले भरिएको उहाँले जानकारी दिनुभयो ।
आइसोलेशनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतना अन्तर्गतको वीरदल गणले गर्ने भएको छ । त्यस्तै चिकित्यसकसहितको स्वास्थ्यकर्मीको टोली, फोेहर व्यवस्थान र खानपिनको व्यवस्थापन सेनाको वीरेन्द्र अस्पताल छाउनीले गर्ने भएको छ । सैनिकको दुईवटै आइसोलेशनमा चिकित्सकसहित पाँच पाँच जनाको स्वास्थ्य टोली परिचालन गरिएको छ ।






