कोरोनाको जोखिम बढेपछि चितवनका थारु समुदायले बनाए ‘चाडपर्व कार्यविधि’

जनपत्र
२१ भाद्र २०७७, आईतवार ०७:५०

चितवन – कोरोनाको जोखिम बढ्दै गएपछि चितवनका थारु समुदायले चाडपर्व मनाउन कार्यविधि बनाएका छन् ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति चितवनले जितिया, दशैं, तिहार, छठ, माघे सङ्क्रान्तिसहित चैते दशैंसम्मका पर्व मनाउन कार्यविधि बनाएर सार्वजनिक गरेको हो ।

‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भएर पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु’ समुदायको चाडपर्व कार्य विधि-२०७७’ जारी भएको हो ।

नेपाल सरकारले २०७७ वैशाख १ गतेदेखि २०७७ चैत्र मसान्तसम्मको सार्वजनिक बिदा तथा पर्व बिदासम्बन्धी मिति २०७६ चैत्र १७ गते राजपत्रमा प्रकाशित गरेको सूचनालाई आधार बनाएर कार्यविधि बनाइएको समितिका सभापति ललितकुमार चौधरीले बताउनुभयो ।

भिडभाड र सामूहिक रुपमा पर्व नमनाइ घर परिवारमा समिति रहेर कोरोनाबाट जोगिनका लागि कार्यविधि बनाएको पनि उहाँले बताउनुभयो । जितिया पर्वसँगै थारु समुदायमा चाडपर्व सुरु हुन्छन् । जितिया, यमोसा, दशैं, सोहोराइ तिहार, छठ, एकादशी, खिचरा, फगुवा, दशहरा पर्व कसरी मनाउने भनेर कार्यविधिमा उल्लेख गरिएको छ ।

कोरोनाको जोखिम रहेकाले रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उपयुक्त हुने भन्दै कार्यविधि बनाएको पनि समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘हामी सुरक्षित रह्यौँ भने पूरै जिन्दगी मनोरञ्जन गर्दै चाडपर्व मनाउँदै गरौँला तर अहिले रीत मात्रै पूरा हुने गरी चाडपर्व मनाऔँ ।’।

थारु समुदायले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । यो महिलाहरुले मनाउने पर्व हो । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । त्यसपछि सोह्रश्राद्धको अन्तिम दिन दिवंगत पितृको सम्झनामा ‘एमोसा’ मनाउँछन् ।

यसमा पनि सामूहिक रुपमा गर्नु पर्ने केही विधिहरु छन् । दशै अनि त्यसपछि तिहारका बेला हुने सोहराई पूजामा पनि घर परिवारमै सीमित हुन भनिएको छ । छठ, बड्का एकादशी ठूलो एकादशी माघे सङ्क्रान्तिको खिचरा, फागु र चैते दशैंसम्म सामूहिक भेटघाट र पर्वको अनुष्ठान नगर्न कार्य विधिमार्फत भनिएको छ ।

विज्ञ र अगुवाहरुलाई राखेर भर्चुअल बैठकमार्फत् छलफल गरेर निर्णय गरेको जानकारी दिँदै सभापति चौधरीले कार्यविधिमा समस्या भए व्याख्या गर्ने र थपघट गर्ने अधिकार समितिलाई भएको पनि बताउनुभयो । कोरोनाको सङ्क्रमण सकिएपछि कार्यविधि खारेज हुने सभापति चौधरीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*