परिवारका सदस्य र डेरामा बस्नेलाई भित्रै थुनेर संक्रमितको घरमा ताला लगाइदिए वडाध्यक्षले
कोभिड–१९ संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्।
करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो।
यसपछि श्वासप्रश्वासमा समस्या आएपछि उनको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ।
कोरोना संक्रमित परिवारलाई होम आइसोलेशनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पीडित परिवार थप मानसिक तनाबमा परेको संक्रमितका परिवारले बताएका छन्।
घरमा बाहिरबाट ताल्चा मारिदिएपछि घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्रसित भएको बताउँदै वडाध्यक्ष र छिमेकीले पीडामाथि पीडा थपेको परिवारको गुनासो छ।
भक्तपुर–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने परिवारकै आग्रहमा ताल्चा मारेको दाबी गरे।
भाडामा बस्ने बाहिर जाने आउने गर्दा छिमेकीमा संक्रमण होला भनेर छिमेकी र परिवारले आग्रह गरेपछि ताल्चा मारेको उनको भनाइ छ।






