बालबालिकामा पेट दुख्ने पनि हुनसक्छ कोरोनाको लक्षण !
हालै बेलायतमा गरिएको एक अनुसन्धानमा बालबालिकामा कोरोनाको लक्षण पेट दुख्ने पनि हुनसक्ने निष्कर्ष निकालिएको छ । क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमले गरेको अनुसन्धानका अनुसार बालबालिकालाई डायरिया हुने, उल्टी हुने र पेट बटारिने लक्षण देखिएमा कोरोना संक्रमण भएको हुनसक्ने बताइएको छ ।
अहिले बेलायतमा मुख्यरुपमा खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउनेलाई कोरोनाको लक्षणको रुपमा मानिदै आएको छ ।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यस अघि नै यस किसिमको लक्षणलाई कोरोनाको लक्षणमा समावेश गरिसकेको छ । यस अनुसन्धानमा एक हजार बालबालिकालाई समावेश गरिएको बिबिसीले उल्लेख गरेको छ ।
मेडआरकाइभमा प्रकाशित यस अनुसन्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने सिकायत गरेका थिए । ६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण पाइएको थियो । यस अध्ययनमा समावेश गरिएका बालबालिकालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था भने नदेखिएको उल्लेख छ ।
यस अनुसन्धानको नेतृत्व गरेका अनुसन्धानकर्ता डाक्टर टम वाटरफिल्डले भने, ‘हामीलाई थाहा थियो, संक्रमित धरै जसो बालबालिकाको अवस्था राम्रो नै थियो । तर हामीलाई थाहा छैन यी संक्रमित बच्चाबाट कति धेरै संक्रमण फैलियो । उनले संक्रमित केहि बच्चामा डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएकाले यसलाई कोरोनाको लक्षणमा समावेश गर्न पर्याप्त भएको बताए । बेलायतको स्वास्थ्य मन्त्रालयले यस अनुसन्धानको सुझावलाई अध्ययन गरिरहेको र कोरोनाको लक्षणमा समावेश गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।






