‘मस्त निद्राको बेला ठूलो प्रलय आएछ, कसैले पनि ऐया भन्न पाएन छन्’

जनपत्र
१८ भाद्र २०७७, बिहीबार १९:०२

काठमाण्डौ – बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । २५ जना अझै हराइरहेका छन् ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले हराएका र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । बाढीमा परेकामध्ये १३ जनाको शव भेटिएको र कम्तीमा २५ जना हराइरहेका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो ।

बाढी पहिरोमा ३१ घर पूर्ण क्षति भएका छन् । बुधबार राति एक्कासी ठूलो बाढी आएकाले बस्तीका कोही पनि भाग्न नपाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

घटनास्थलमा रहनुभएका प्रजिअ न्यौपानेले भन्नुभयो, ‘राति एक्कासी ठूलो बाढी आएर गाउँ नै सोहोरेछ, हेर्दा ठूलै प्रलय जस्तो देखिन्छ, कसैले पनि ऐया भन्ने मौका पाएन छन्, यहाँको अवस्था हेर्दा बिजोग देखिन्छ ।’

यस्तै गृह मन्त्री रामबहादुर थापालाई लिएर बाग्लुङको ढोरपाटन बाढी पहिरो प्रभावित क्षेत्रमा गएको हेलिकप्टर मौसम खराब भएपछि पोखराबाट फर्किएको छ ।

पीडितका लागि राहतसमेत लिएर जाँदै गरेको हेलिकप्टरमा गृह मन्त्रीसहित बाग्लुङका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल पनि हुनुहुन्थ्यो ।

घटनास्थल सदरमुकामबाट एक सय १५ किलोमिटरभन्दा टाढा रहेकाले उद्धार र राहतमा ढिलाइ भइरहेको छ । ठूलो पानी परिरहेको बेला माथितिर कतै ताल फुटेर वा बाँध बनेर एक्कासी बाढी आएको हुन सक्ने उपमेयर करमती पुन मगरले बताउनुभयो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढी पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ट्वीट गरी मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको भन्दै प्रकृति र वातावरणमैत्री दिगो, सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*