गुणस्तर परीक्षणविनै भित्रिन्छ स्यानिटाइजर

जनपत्र
१६ भाद्र २०७७, मंगलवार ०६:५५

कोरोना संक्रमण बढेसँगै बजारमा स्यानिटाइजरको माग ह्वात्तै बढेको छ । स्वदेशी औषधि उद्योगले यसको उत्पादनमात्र थालेका छैनन्, बजारमा आयातित स्यानिटाइजर पनि छ्याप्छ्याप्ती पाइन्छन् । तर, आयातित स्यानिटाइजर गुणस्तर परीक्षणविनै भित्र्याइँदा संक्रमणको जोखिम झन् बढेको छ ।

औषधि व्यवस्था विभागले गत चैतयता ४० ओटा औषधि उद्योगलाई स्यानिटाइजर उत्यादनको अनुमति दिएको छ । तीमध्ये ३० ओटाले व्यावसायिक उत्पादन गरिरहेका छन् । स्वदेशी उद्योगको उत्पादनको गुणस्तरमा विभागले निगरानी राखे पनि भन्सार नाकाहरूबाट गुणस्तर परीक्षणविनै स्यानिटाइजर धमाधम भित्रिइरहेका छन् ।

विभागले स्वदेशी उद्योगका लागि स्यानिटाइजरमा इथानोल ८० प्रतिशत हुनुपर्ने मापदण्ड बनाएको छ । तर, भारत, चीनलगायत देशबाट आयात हुने स्यानिटाइजरको मापदण्डबारे विभाग मौन छ ।

विभाग आयातित स्यानिटाइजरको गुणस्तरमा उदासीन हुँदा भन्सारहरूबाट गुणस्तर परीक्षणविनै पास हुने गरेको छ । अहिले भन्सार बिन्दुमा स्यानिटाइजरको गुणस्तरको सुनिश्चितता हेर्ने प्रावधान नभएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले बताए । ‘औषधि व्यवस्था विभागले असोजसम्मका लागि समय दिएर आयात गर्न दिने पत्र पठाएको छ, त्यही पत्रका आधारमा वस्तुको घोषणा हेरेर जाँचपास भइरहेको छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले दर्ताका लागि शुरूमा असारसम्मको समय दिइएकोमा बढाएर असोजसम्म पु¥याइएको जानकारी दिए । ‘आयातकर्ताले बन्दाबन्दीका कारण कागजात पु¥याउन कठिनाइ भएको बताएपछि असोजसम्मका लागि समय थपिएको हो,’ प्रवक्ता केसीले आर्थिक अभियानसँग भने । दर्तापछि गुणस्तरमा निगरानी हुने विभागको भनाइ छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले हालै गरेको एक अध्ययनले नेपाली बजारमा पाइने ४५ प्रतिशत स्यानिटाइजर गुणस्तरहीन भएको पत्ता लगाएको थियो । यस्तो स्यानिटाइजरले विषाणु निष्क्रिय पार्न नसक्ने हुँदा संक्रमणको जोखिम बढ्ने चेतावनी नास्टले दिएको छ ।

आयातित स्यानिटाइजरको गुणस्तर जाँच नहुँदा कमसल स्यानिटाइजरको विक्री बढेको नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहालले बताए । ‘जोकोहीलाई आयात गर्न दिने, तर गुणस्तरको मापदण्ड कार्यान्वयन नहुँदा कमसल स्यानिटाइजर छ्यापछ्याप्ती पाइन थालेको छ । यसले संक्रमणको जोखिमलाई बढाएको छ,’ दाहालले आर्थिक अभियानसँग भने ।

बितेको ५ महीनमा मात्रै स्वदेशमा स्यानिटाइजरको बजार ५० करोडभन्दा माथि पुगिसकेको दाहालको दाबी छ । गत वर्ष २०७६र७७ मा रू। २४ करोड ५४ लाखबराबरको स्यानिटाइजर आयात भएको थियो । चालू वर्ष २०७७र७८ को पहिलो महीना साउनमा मात्रै रू। १२ करोड रुपैयाँभन्दा बढीको आयात भइसकेको भन्सार विभागको तथ्यांक छ ।

औषधि व्यवस्था विभाग र नेपाल औषधि उत्पादक संघबीच गत असार ११ गते विदेशी स्यानिटाइजर दर्ता गरेरमात्रै भित्र्याउन दिने सहमति भएको थियो । सो सहमतिविपरीत अहिले पनि गुणस्तर परीक्षणविनै स्यानिटाइजर आयात भइरहेको उत्पादकले बताएका छन् ।

विभागका महानिर्देशक नारायण ढकाल भने मापदण्डविपरीतको स्यानिटाइजर आयात नभएको दाबी गर्छन् । ‘स्यानिटाइरको गुणस्तर मापदण्ड बनाइएको छ । मापदण्डविपरीत आयात भएको छैन,’ उनले बताए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*