मकवानपुरका चार स्थानीय तहमा लगाइएको निषेधाज्ञा भोलिबाट हटाउने, बजार १० बजे सम्म खुल्ने

जनपत्र
१५ भाद्र २०७७, सोमबार १०:०४

हेटौंडा । मकवानपुरका ४ स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले लगाएको निशेधाज्ञा भोलीबाट हटाइने भएको छ । बजार क्षेत्रमा बन्द गर्ने स्वरुप पनि परिवर्तन गरिने भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका भरी र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा भोलीबाट हटाउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनुभयो ।

आज बिहान बसेको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञा हटाएर दिउसोको समयमा बजार र यातायात भने वन्द राख्ने निर्णय भएको उहाँले वताउनुभयो । यही निर्णयपछी मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषधाज्ञा पनि हटाईने उहाँले वताउनुभयो । निषधाज्ञा हटेसंगै हेटौंडाका चोक चोकमा परिचालन गरेका नेपाली सेना व्यारेकमा फर्कनेछन् ।

अहिलेको स्वरुपलाई भोलिबाट भने केही सहज बनाइने भएको प्रजिअ नेपालले वताउनुभयो । विहान १० बजेसम्मका लागि सबैप्रकारका व्यवसाय संचालन गर्न दिइने र यातायात भने बन्दनै गरिने भएको छ । दिउँसो केही घण्टा बैँक तथा कार्यालय खुल्नका लागि सहज बनाइएको उहाँले वताउनुभयो । बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको भएपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २५ सम्म लागु हुनेछ ।

बिहान बजार सञ्चालन भएपनि सबारीसाधन भने रोक लगाईएको छ । दिउँस १० बजेबाट भने टिफर सञ्चालन गर्न पाईने छ भने लोड सबारीहरु साँझ सातबजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टिनको ब्यवस्थापन गरेर मात्र सञ्चालनमा आउनुपर्नेछ । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाईएको छ ।

मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वहरुको नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ । मकवानपुरमा खाद्यान्न लगायत विभिन्न सामग्रीहरु लोड अनलोड गर्न बेलुका ७ बजेखेअि विहान ५ बजेसम्म समय निर्धारण गरिएको छ ।

बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी दूग्धजन्य र औषधिजन्य लगायतका अतिआवश्यक बस्तु खरिद गर्न विहान ५ बजेदेखि १० बजेसम्म पसल व्यवसाय संचालन गर्न दिइने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले जिल्लाभरका वित्तिय संस्था, बैँकहरु भोलिदेखि दिनैभरी संचालन गर्न दिनुको साथै उक्त प्रयोजनका लागि जाने सर्वसाधारणहरुलाई निजी सवारी साधनहरु मात्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*