पहिरोले पुरिएर जुम्लामा दुईमहिने शिशुसहित १० जनाको मृत्यु

जनपत्र
१५ भाद्र २०७७, सोमबार ०६:०३

जुम्ला र कालिकोटको सीमाबजार नाग्ममा पहिरोले चार घर पुरिँदा दुईमहिने शिशुसहित १० जनाको मृत्यु भएको छ । पहिरोमा परी एकजना गम्भीर घाइते भएका छन् । आइतबार बिहान खसेको पहिरोले जुम्लाको तिला गुफा नगरपालिका– १ नाग्म बजारका चार घर पुरिएका हुन् । पूर्णा शाहीको घर पुरिँदा उनको परिवारका चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी लालबहादुर धामीका अनुसार पूर्णाका पति ४० वर्षीय प्रयाक, छोराछोरी आठ वर्षीया हिमा, पाँच वर्षीय नीराजन र दुईमहिने अब्बलको ज्यान गएको छ ।

त्यस्तै, पहिरोले घर पुरिँदा ३५ वर्षीय मनवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाईं, उनकी पत्नी २५ वर्षीया छोड्नु दमाईं, छोरा १० वर्षीय गजेन्द्र दमाईंको मृत्यु भएको डिएसपी धामीले बताए । पहिरोमा पुरिएर सुर्खेतको भेरी नगरपालिकाकी ४५ वर्षीया आइती खड्का र उमेर नखुलेका अमृत थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ४० वर्षीया पूर्णा र १३ वर्षीय अर्जुन हमाल घाइते भएका छन् । पूर्णा गम्भीर घाइते भएकी छिन् । उनलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले पहिरोबाट उद्धार गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकी उनको अवस्था खतरामुक्त रहेको डिएसपी धामीले बताए । अर्का घाइते अर्जुन भने डिस्चार्ज भएका छन् ।

पहिरोले पूर्णा, मुनवीर कटुवाल, लाल नेपाली र वीर परियारको घर पुरिएको हो । पहिरो पन्छाउने काम भइरहेको डिएसपी धामीले बताए । ‘पहिरोमा चारै परिवारका सदस्य पुरिएका छन् । १० जनाको शव भेटिएको छ, अन्यको खोजी भइरहेको छ । तर, कति पुरिएका छन् भन्ने यकिन छैन,’ डिएसपी धामीले भने । उनीहरूको खोजीका लागि पहिरो पन्छाउने काम जारी रहेको छ ।

नाग्म बजारमाथिको खेतमा पानी छोडिएको थियो । जसले गर्दा भिरालो जमिन भासिँदा पहिरो गएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सञ्चार सुविधा नभएकाले उद्धारका लागि सुरक्षाकर्मीको टोली पुग्न समय लागेको थियो । बेपत्ताको खोजीमा जुम्ला र कालिकोटका सुरक्षाकर्मी परिचालन गरिएका छन् । जुम्लासँगै कालिकोटबाट पनि सुरक्षाकर्मीको टोली उद्धारका लागि खटिएको कालिकोटका डिएसपी श्याम ओलियाले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*