‘निमित्त’ को भरमा कर्णाली प्रदेश, प्रमुख सचिव डेढ महिनादेखि रिक्त

जनपत्र
१४ भाद्र २०७७, आईतवार २०:३४

सुर्खेत — कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेको साउन ५ गते भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएपछि मुख्यमन्त्री कार्यालयकै सचिव लक्ष्मीकुमारी बस्नेतले निमित्तको जिम्मेवारी पाइन् । संघीय सरकारले भने एक महिना बित्दासम्म पनि नयाँ प्रमुख सचिव पठाएन ।

त्यसपछि बाध्य भएर भदौ ६ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बस्नेतलाई आर्थिक अधिकारसमेत प्रयोग गर्ने गरी निमित्त सचिव तोक्ने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिने निर्णय गर्‍यो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक हुन नपाउँदै भदौ ९ गते संघीय सरकारले बस्नेतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गर्‍यो ।

निमित्त प्रमुख सचिव बस्नेतले काठमाडौं जान खुट्टा उचालिसक्दा कर्णाली सरकार भने बिलखबन्दमा परेको छ । उसले बस्नेतलाई प्रमुख सचिव नआउँदासम्म बसिदिन ‘अनुरोध’ गरेको छ ।

‘संघले अहिलेसम्म प्रमुख सचिव पठाएको छैन, उल्टै हामीले निमित्त तोकेको सचिवलाई पनि सरुवा गरिएको छ, प्रदेश सरकारसँग कुनै किसिमको सरसल्लाह पनि गरिँदैन,’ सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘आएका सचिव र कर्मचारी पनि कति बेला जाने हुन् भन्ने पत्तो हुँदैन, यस्तो अवस्थामा हामीले अघि सारेका योजनाहरु कसरी पूरा गर्न सक्छौं ?’ संघीय सरकारले कर्मचारी परिचालन तथा व्यवस्थापनजस्तो विषयलाई गम्भीरतापूर्वक नलिएको उनले बताइन् ।

कर्णालीमा प्रमुख सचिवमात्र होइन, मन्त्रालयका सचिवसहित माथिल्लो तहका कर्मचारीहरु सरुवा हुँदा पनि कर्णालीमा नआउने र आइहाले पनि दुईचार महिना बसेर फर्किहाल्ने प्रवृत्ति देखिएको छ । फागुन अन्तिममा प्रमुख सचिव भएर आएका पाण्डे पनि करिब ४ महिनामै सरुवा भएर गए । प्रदेश सरकार सञ्चालनमा आएको साढे २ वर्ष अवधिमा कर्णालीमा चारजना प्रमुख सचिव बदलिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*