मकवानपुरका दाहाल, खतिवडा र तेह्रथुमका सुब्बा २०४८ सालदेखिका सांसद्, जो मन्त्री भएनन्

जनपत्र
१४ भाद्र २०७७, आईतवार २०:१३

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको विवाद समाधान कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयन गर्न सचिवालय बैठक डाकिएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा सुरु भएको छ । कारण– कार्यदलले संघीय र प्रदेश मन्त्रिपरिषद् गठन गर्न सिफारिश गरेको छ । सरकारलाई ‘गुट–समावेशी’ बनाउन मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अघि बढाइएको हो ।

यता बालुवाटारमा अध्यक्षद्वय मन्त्रिमण्डल पुनर्गठनसहितका नियुक्तिबारे बैठक बस्छन्, उता नेकपा सांसद् विरोध खतिवडामाथि शुभेच्छुक र आफन्तको दबाब बढ्छ । खतिवडालाई फोन गर्नेले सोध्छन्, ‘मन्त्रिमण्डल पनि हेरफेर हुँदैछ रे ! के छ संभावना, यसपालि त छुट्नुभएन है ?’

फेरि हाम्रो समाजमा अरुलाई उपदेश दिनेको पनि कमी छैन । अधिकांशको उस्तै सुझाव हुन्छ, ‘लागिपर्नुस्, यसपटक चान्स छ ।’

कोही ‘गुटबाट लाइन मिलाउन’ सुझाव दिन्छन्, कोही बालुवाटार धाउन । जीवनभरि राजनीति मात्र गरेको खतिवडालाई मन्त्री बन्ने इच्छा भएको पनि कहाँ हो र ! तर के गर्ने ? खतिवडा भने रनभुल्ल छन् ।

‘सबै फोन गर्नेले भन्न त भन्छन् । मैले के गर्नु, मेरो हातमा छैन । नेताहरुले गर्ने हो’, बिएल नेपाली सेवासँग खतिवडाले भने, ‘सबै नेताहरुलाई मेरोबारेमा थाहा छ । माधव नेपाललाई पनि थाहा छ । प्रधानमन्त्रीज्यूसँग त झन् पञ्चायतकालमै जेल बसेको । संसद्मा सकेजति भूमिका निभाएको छु । यत्ति भन्छु– विश्वास गरेर जिम्मेवारी दिनुभयो भने विश्वासघात हुन दिने छैन।’

खतिवडा नेकपाका त्यस्ता दूर्लभ सांसद् हुन्, जो जति पटक लडे, सबै पटक विजयी भए । ०४८, ०५१, ०५६ र ०७४ सालमा चार पटक प्रत्यक्ष चुनाव जितेका छन्– मकवानपुरबाट ।

२०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा भने टिकट पाएनन् । त्यतिबेला पार्टीका उम्मेद्वारले एकपटक हारे, एक पटक जिते । फेरि ०७४ मा उनले टिकट पाए, जिते ।

‘विरोध’ र ‘दमन’ को संयोग !

खतिवडा संसद्भित्र अत्यन्त प्रभावकारी भूमिका खेल्ने सांसद्मा पर्छन् । उनी प्रतिपक्षी दलका हुन्थे भने त रोचक शैलीमा नाम अनुसारको प्रभाव देखिन्थ्यो । सधैँ सार्वजनिक लेखा समितिमा रहँदै आएका उनी त्यहाँभित्रका प्रभावशाली सांसद्मा पर्छन् । चौथो पटक सांसद् जितेपछि भने उनीमाथि दबाब झनै बढेको छ । सधैँ चुनाव जित्ने तर मन्त्री हुन नसक्ने ‘खराब उदाहरण’ बन्ने खतरामा पुगेका छन् उनी ।

खतिवडा ०३६ सालको विद्यार्थी आन्दाेलनबाट उदाएका नेता हुन् । त्यसबेला उनी काठमाडौ‌को ‘ल क्याम्पस’ पढ्थे । साे आन्दोलनका नेता उनी अनेरास्ववियूको  केन्द्रीय कमिटी सदस्य भए । त्यसबेला अखिलको केन्द्रीय कमिटी ३५ सदस्यीय थियो ।

तत्कालीन नेकपा (माले) भूमिगत थियो । पार्टीका सबै खुला गतिविधि विद्यार्थी संगठनले नै सञ्चालन गर्थे । ०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा विरोध खतिवडा जनपक्षीय उम्मेद्वार भएदेखि राष्ट्रिय राजनीतिमै चर्चामा छन् ।

राष्ट्रिय पञ्चायत चुनाव प्रचारकोको अन्तिम आमसभामा रुपचन्द्र बिष्टलाई समर्थन गर्दै विरोधले एउटा नारा दिएका थिए, ‘विरोधको माछा रूपचनको हात, नकरा मण्डले खालास् लात् ।’ चुनाव प्रचार बन्द भएपछिको मौनअवधिमै यो नारा अत्यन्त लोकप्रिय भयो । उनलाई पनि बिष्टको समर्थन भयो, रुपचन्द्रलाई भूमिगत नेकपा (माले) को ।

उक्त चुनावमा भूमिगत मालेका ‘जनपक्षीय उम्मेद्वार’ हरु पञ्चायतविरोधी माहौल सिर्जना गर्दै चुनावमा होमएिका थिए । मकवानपुरमा उनीहरुका पञ्चायतका एक जना हस्ती प्रतिस्पर्धी थिए– कमल थापा । त्यसबेलाको निर्वाचन प्रणाली १०९ सीट भएको राष्ट्रिय पञ्चायतमा दुई सीट भएको मकवानपुरबाट रुपचन्द्र बिष्ट र कमल थापा विजयी भए । विरोध खतिवडा तेस्रो भए, हारे ।

चुनाव हारे पनि विरोध खतिवडा चर्चित नेता भए । चुनावअघि ‘शिक्षक आन्दोलनका नेता बद्री खतिवडाको छोरो’ का रुपमा चिनिन्थे । चुनावपछि पिताको परिचय बदलिदिए– ‘विरोध खतिवडाका बाबु’ भनेर ।’

०४८ सालको संसदीय निर्वाचनमा विरोधले जिते । उनी प्रमुख प्रतिपक्षी दलको सांसद् भए ।सभामुख भए- दमननाथ ढुंगाना । कतिपय प्रसंगमा संसद्‍मा उनलाई थेग्न तत्कालीन सभामुख  ढुंगानालाई पनि धौ–धौ पर्थ्यो । ढुंगानाले सभामुखको कुर्सीबाट विरोधलाई पटक- पटक रुलिङ गरेका छन्, ‘तपाईं विरोध हो, विरोध गर्नुस् । म दमन हुँ, तपाईंलाई दमन गर्छु। बोल्न समय दिन्न ।’

विराेध पहिलोचोटी सांसद् भएको ३० वर्ष भएको छ । जनतालाई धोखा दिए पनि कसरी भन्नु ? उठेपिच्छे चुनाव जित्छन् । चार पटक लडे, सधैँ जितेका छन् । नेकपाभित्र यत्ति धेरै पटक चुनाव जितेर पनि मन्त्री हुने अवसर नपाएका उनी एक्ला नेता हुन् ।

संसद्मा सभामुखले समय नदिए पनि, आफ्ना सचेतकले ‘फेवर’ नगरे पनि आफ्ना कुरा राखिछाड्ने उनको शैली रोचक शैली छ उनको । कानून र संसदीय अभ्यासको ज्ञान पनि छ । राज्यसत्ता सञ्चालनबारे जानकारी छ । परिपक्व सांसद् पनि हुन् विरोध ।

साविक एमालेको नवौँ महाधिवेशनमा माधव नेपाल समूहबाट चुनाव लडेर केन्द्रीय सदस्य जितेका हुन् । त्यसैले उनलाई ‘नेपाल समूह’ को ‘ट्याग’ छ तर पार्टी एकतापछि अहिले साविक गुट मिसमास भइसकेको छ ।

फेरि विरोध त्यस्तो गुटको सीमामा बाँधिएर बस्नसक्ने स्वाभावका पनि छैनन् । पछिल्लो समय उनको गाँजालाई ‘मेडिसनल प्लान्ट’ मानेर व्यावसायिक खेती गर्न दिनुपर्ने अभियानका कारण चर्चित छन् । यससम्बन्धी उनको ‘सार्वजनिक महत्वको प्रस्ताव’ संसद्मा विचाराधीन छ ।

गत मंसिरसम्म उनीजस्तै मन्त्री, सभापति केही पनि नभएको ०४८ सालकै सांसद् वसन्त नेम्वाङ पनि थिए, जसले तीन पटक टिकट पाएर सबै पल्ट जितेका थिए । नेम्वाङ पनि भोतिक निर्माणमन्त्री भएपछि त उनी एक्ला भएका छन् ।

अब सबैको आँखा पनि उनीमाथि परेको छ । ‘मजस्तै ०४८ सालदेखिको सांसद् वसन्त नेम्वाङ बाँकी थिए, उनी पनि  मन्त्री भए । अब मजस्तै बाँकी छँदा पनि छैनन् होला’, उनले भने ।

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका र संसद्को चुनावमा समेत वामवर्चश्व राख्दै आएको छ– मकवानपुर जिल्लाले । तर, नेकपाले केन्द्रीय सरकारमा कहिल्यै मन्त्री नदिएको गुनासो पनि जिल्लाभित्र छ । यो गुनासो मत्थर पार्न र भोलि चुनाव लड्न सजिलोका लागि पनि मन्त्री बनाउनुपर्ने अवस्था आइसकेको स्थानीय नेकपाका नेता–कार्यकर्ता बताउँछन् ।

कमल थापा हराउने कृष्ण दाहाल

खतिवडाजस्तै ०४८ सालदेखिकै मन्त्री हुन बाँकी नेकपाका अर्का सांसद् हुन्, मकवानपुरकै कृष्णप्रसाद दाहाल । उनले पनि विरोधले जस्तै चारपटक टिकट पाए । तीनपटक जितेका छन्, ०५१ सालमा एकपटक कमल थापासँग पराजित भए । नत्र सधैँ थापालाई हराए ।

राप्रपा नेता कमल थापा ०५१ सालमा मकवानपुरका दुई वटा क्षेत्र १ र २ बाट चुनाव उठे । एमालेका क्षेत्र नम्बर १ मा दाहाल र २ मा विरोध खतिवडासँग उनको प्रतिस्पर्धा थियो । १ मा उनले जिते र सा‌सद् भए । २ नम्बरबाट भने उनी खतिवडासँग पराजित भएका थिए ।

०४८, ०५६ र ०७४ सालमा चुनाव जितेका दाहाल अहिले संघीय संसद्को अर्थ समितिका सभापति छन् । सभापति राज्यमन्त्री सरहको पद हो । र, यो विधि निर्माणका हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।

दाहाल पनि मन्त्रीका प्रबल दावेदार हुन् तर महत्वपूर्ण समितिको सभापति रहेकाले त्यहाँबाट झिकेर मन्त्री बनाउने निर्णय गरिहाल्लान् कि नगर्लान्, त्यो भने अनुमान गर्न गाह्रो छ ।

बौद्धिक नेता विजय सुब्बा 

४८ सालदेखि सांसद् भएर पनि अहिलेसम्म मन्त्री नभएका अर्का सांसद् हुन्– तेह्रथुमका डा. विजय सुब्बा । उनी यसपटक नेकपाका समानुपातिक तर्फका सांसद् हुन् ।

पुल्चोक क्याम्पसबाट आईई गरेका सुब्बा ०४८ सालको चुनावअघिसम्म ओभरसियरको जागीर खान्थे, पार्टीको काम गर्थे । नेपालमा पढाइ नहुने भएकाले इञ्जिनीयर चाहिँ हुन सकेका थिएनन् ।

०४८ सालको चुनाव आयो । एमाले सम्पूर्ण तागतका साथ चुनावमा लाग्यो । विजय उठ्दा मात्र जित्ने अवस्था भएकाले उनलाई जागीर छोडाएर चुनाव लडायो– पार्टीले । उनले जिते पनि । त्यसबेला एमालेले जितेको ६९ सीटमध्ये तेह्रथुमका विजय सुब्बा पनि थिए ।

०४९ साल माघमा एमालेको पाँचौ महाधिवेशन भयो– काठमाडौंमा । सुब्बा सीपी मैनालीले नेतृत्व गरेको ‘परिमार्जित नौलो जनवाद’ का पक्षमा लागे । मदन भण्डारीको नेतृत्वको ‘जनताको बहुदलीय जनवाद’ पक्षले जित्यो । मैनाली पक्ष ‘प्रतिपक्षी’ हैसियतमा पुग्यो ।

०५१ सालमा भएको मध्यावधि निर्वाचन तेह्रथुमबाट जित्ने पक्काजस्तै थियो । सीपी मैनाली खेमाका सुब्बा टिकटबाट बञ्चित भए । सुब्बालाई दिने भनेर निर्णय भएको भए पनि तेह्रथुमबाट पार्टीका जिल्ला सचिव सुरेन्द्र फोम्बो लडे । जिते । उनी हाल अमेरिकामा छन् ।

०५४ सालमा एमाले फुट्यो । सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली, आरके मैनाली लगायतले छुट्टै दल नेकपा (माले) बनाएर ‘तारा’ छापबाट चुनाव लडे । सीपीनिकट भनेर पहिले किनारा लगाइएका सुब्बा एमालेमै रहे । पार्टी फुटेकोबेला जित्ने निश्चित पनि थिएन । विजयलाई पुनः टिकट दिइयो । उनी लडे र जिते पनि । ०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभासम्म उनी सांसद् थिए ।

०६४ सालको संविधानसभा चुनावमा उनलाई टिकट दिइएन । ०६७ माघमा झलनाथ खनाल प्रधानमन्त्री भएपछि गुटमा आउने गरी मन्त्री हुन प्रस्ताव पनि गरिएको थियो– सुब्बालाई । उनले अस्वीकार गरेका थिए ।

०६९ सालमा अशोक राईसँगै विजय सुब्बाले पनि एमाले छाडे । संघीय समाजवादी पार्टीका नेता भए । ०७० सालको चुनावमा उनी उठेनन् । ०७१ सालमा पुनः एमालेमै फर्किए । ०७४ सालको चुनावमा उनले टिकट पनि मागेनन्, पार्टीमा । समानुपातिकको सूचीमा रहेका सुब्बा सांसद् भए ।

विद्यावारिधि गरेका सुब्बा अहिले राज्य व्यवस्था समितिभित्र गहिरो ढंगले अध्ययन गरी छलफल गर्ने सांसद्भित्र पर्छन् । नागरिकता ऐन, संघीय निजामती ऐन निर्माणमा समितिभित्र एमाले खेमाको नेतृत्व उनैले गरेका छन् ।

अप्ठेरो बेलामा चुनाव लडेर जित्ने तर जित्नसक्ने अवस्था भएपछि टिकट खोसिनु सुब्बाको नियति हो । उनलाई मन्त्री हुन आफ्नै बहिनी शिवमाया तुम्बाहाङ्फेले पनि पछाडि छाडिसकेकी छिन् । प्रतिनिधिसभाकी पूर्व उपसभामुख साम्बाहाङ्फे  सुब्बाकी सहोदर बहिनी हुन् ।

पटक–पटक गुट फेरेको देखिन सुब्बा आफू गुटको हिसाबले नचल्ने बरु मनमा लागेको कुरा भन्ने गरेको बताउँछन् । जापानी प्रधानमन्त्रीको उदाहरण देखाएर नेपालका प्रधानमन्त्री ओलीबारे गरिएको टिप्पणीबारे उनले भने, ‘खै, सबै नेता चिनेका छौँ हामीले । अरु निरोगी र शारीरिक रुपमा स्वस्थ नेताहरुको क्षमता र तिक्ष्णता केपी ओली जत्तिको पनि छैन ।’

‘म सही र गलत छुट्याएर आफूलाई सही लागेको काम गर्छु, गुटमा चल्न सक्दिनँ । चाकडी चाप्लुसी जान्दिनँ’, सुब्बाले बिएल नेपाली सेवालाई भने, ‘मलाई मन परेको प्रधानमन्त्री हुन्– केपी शर्मा ओली । यतिबेला तर्कका आधारमा म उनलाई नेता मान्छु । स्वाभिमानमा विश्वास गर्छु । चकडी, चाप्लुसीमा विश्वास गर्दिनँ । त्यसैले पछि परेँ हुँला ।’

यो समाचार  https://www.breaknlinks.com/nepali/ का लागि माधव ढुङ्गेलले लेख्नु भएको समाचार हामिले साभार गरेका हौं

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*