अधिवेशनको संघारमा कांग्रेसका चुनौती

जनपत्र
१३ भाद्र २०७७, शनिबार १९:१७

काठमाडौँ — नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै छ । अधिवेशन निर्धारित समयमै होला–नहोला, संशय पनि छ । कांग्रेसको विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ । तेह्रौं महाधिवेशन २०७२ फागुनमा भएको थियो । विधानतः २०७६ फागुनमै चौधौं अधिवेशन भइसक्नुपर्ने थियो ।

एक वर्ष म्याद थपेर ढिलो गरी यो अधिवेशनको तिथि तोकिएको हो । केही समयदेखि कांग्रेसमा हदैसम्म कार्यकाल लम्ब्याउने परम्परा बस्न थालेको छ । नेवि संघ, तरुण दल लगायतका भ्रातृ संगठनहरूमा त चुनाव हुनै छाडिसक्यो । पार्टीमा पनि हुने भए अधिवेशन गर्दै नगर्ने र आजीवन सभापति बन्न पाए हुँदो हो भन्ने प्रवृत्ति देखिन्छ । तर त्यसको अनुमति संविधानले दिँदैन । विशेष अवस्था देखाए पनि बढीमा छ महिना मात्र तन्काउन सकिन्छ । अधिवेशन वा विसर्जन ? संघारमा पुगेको छ कांग्रेस ।

अधिवेशनको मुख्य एजेन्डा नेतृत्वचयन नै हो, अरू कुरा औपचारिकतामै सीमित हुनेछन् । नेतृत्वको मुद्दा पनि वर्तमान सभापति शेरबहादुर देउवा वा अर्को को भन्नेमा सीमित छ । देउवाको निरन्तरता चाहनेहरू अहिलेसम्म एक ढिका छन् । विमलेन्द्र निधिको कुरा शेखर/शशांक कोइराला र प्रकाशमानलाई दिएको जवाफभन्दा बढी होला जस्तो लाग्दैन । अर्थात्, पारिवारिक विरासत उनीसँग पनि छ । देउवाका विरुद्धमा रामचन्द्र पौडेल वा शेखर/शशांकमध्ये को भन्ने प्रश्न यथावत् छ । तीमध्ये अलि विचारमा खेल्न सक्ने रामचन्द्र नै हुन् । विचार, निष्ठा र संलग्नतामा उनलाई उछिन्ने अर्को छैन । नयाँ अर्थात् युवा पुस्तामा नेतृत्व जानुपर्छ भन्ने आवाज छ, तर त्यसको दाबी कसैले गरेको छैन । देउवा र रामचन्द्र एउटै पुस्ताका हुन् । त्यसपछि जो आए पनि नयाँ पुस्ता भन्नुको तुक छैन ।

राजनीतिमा नेतृत्व राजसंस्थामा जस्तो युवराज बनेर आउँदैन, न ढोकामा फूलमाला लिएर कोही स्वागत गर्न कुरेर बसेको हुन्छ । त्यो त नेता बनेपछि ताँती लाग्ने प्रवृत्ति हो । नेवि संघको नेतृत्व गरेकाहरू सबैजसो अहिले कांग्रेसको केन्द्रीय नेतृत्वपंक्तिमै छन् । देउवा, रामचन्द्रहरू संस्थापक पुस्ताकै हुन् । विमलेन्द्रदेखि प्रदीप पौडेलसम्म, २०३६ सालदेखि २०६२/६३ को आन्दोलनसम्म नेवि संघको नेतृत्व गर्ने कोही छुटेका छन् जस्तो लाग्दैन । ती सबैजसो अधिवेशनमा लोकप्रिय मतबाट केन्द्रीय सदस्यमा निर्वाचित पनि भएका छन् । तर तिनको हैसियत लोकसेवा पास गरेका शाखा अधिकृतहरूको ताँतीजस्तो भयो । मुद्दासहित जोखिम मोल्ने आँट कसैले देखाउन सकेको छैन । केन्द्रीय सदस्यमा एकैपटक धेरैलाई रोज्न पाइन्छ । सभापति, उपसभापति वा महामन्त्रीजस्ता एकल पदमा जब यो कि त्यो भनेर रोज्नुपर्ने अवस्था हुन्छ, गुट–उपगुटको भूमिका निर्णायक हुन्छ । महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकको रोजाइ कमजोर हुन्छ, छायामा पर्छ । हरेकपटक महाधिवेशनको पूर्वसन्ध्यामा गुटको कोटा बाँडफाँटजस्तो हरेकपटक महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता वितरण पद्धति रहुन्जेल नेतृत्वचयनमा ठूलो परिवर्तन होला भनेर अपेक्षा गर्न सकिन्न ।

राजनीतिक नेतृत्वको चयन लोकप्रिय निर्वाचनकै उपज भए पनि यो सधैं विवेकपूर्ण हुन्छ भन्ने जरुरी छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा नमुना मानिन्छन् । नेपालमा यस्ता नमुना धेरै छन् । पतन हुन लागिसकेका धेरैलाई २०६२/६३ को जनआन्दोलनले जोगाइदियो । आन्दोलनपछि उनीहरूकै रजगज छ, राजनीति र सत्तामा । कांग्रेसको राजनीति त देउवाले समाप्त गरिसकेका थिए, २०५८ सालमा संसद् विघटनको गोटी बनेर । उनको राजनीति त्यहीँबाट सकिनुपर्ने थियो । ज्ञानेन्द्रबाट दुई–दुईपटक लात खाएर प्रधानमन्त्रीबाट बर्खास्त हुनुको पीडाबाहेक आजको राजनीतिको कुन मुद्दामा उनको ‘स्टेक’ गाँसिएको छ ? उनको नेतृत्व भनेको अकर्मण्यता हो, गतिशून्यता हो । अहिले कांग्रेस एउटा स्थूल संरचनामा सीमित हुन पुग्नु त्यसकै उपज हो । उनले प्रतिष्ठाको विषय नबनाई बाहिरिनुमा सम्मान छ । बेलायतमा डेभिड क्यामरुन ब्रेक्जिट जनमतमा हारपछि ५० वर्षकै उमेरमा राजनीतिबाट बाहिरिए । बेलायती जनता र राजनीतिमा उनको सम्मान कुनै पूर्ववर्ती वा बहालवाला प्रधानमन्त्रीको भन्दा कम छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*