नेपाली सेनाका एक दर्जन महासेनानीको सरुवा
सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गरेको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट करिब रु ११ अर्ब ६५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको उनले बताए । मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको समेत काम गर्ने गरी तोक्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री डा खतिवडाले विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापार ९ई–बिजनेस० सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । यसैगरी सरकारले प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत पठाइएका कार्यक्रमको प्राविधिक कार्य सञ्चालन प्रक्रिया, रिपोर्टिङ्ग तथा तथ्याङ्क व्यवस्थापनका शर्त पारित गर्ने निर्णय गरेको छ । श्रीलंकाद्वारा आयोजना गरिने २१औं बिमस्टेक ‘सिनियर अफिसियल्स मिटिङ्गमा नेपालका तर्फबाट सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरिएको छ । रासस






