राक्सीराङको चुलिङखोलामा पुल निर्माणका लागि संघीय सरकारले रकम उपलब्ध गराउने

हेटौंडा । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत चुलिङखोला पुल निर्माणका लागि संघीय सरकारले सहयोग गर्ने भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा चुलिङखोलामा पुल निर्माणका लागि संघीय सरकारले आवस्यक बजेट विनीयोजित गर्ने भएको हो ।
डिभीजन सडक कार्यालय हेटौंडा मार्फत चुलिङ खोलामा पुल निर्माणका लागि लागत स्टमेट तयार पार्ने काम भइरहेको सांसद खतिवडाले वताउनुभयो । पुल निर्माण नहुँदा यस क्षेत्रका वासिन्दाहरुका लागि आवत जाओत गर्नका लागि समस्या हुने भएकाले यसमा निरन्तरको प्रयासपछी पुल निर्माणका लागि सरकारसले रकम पठाउन लागेको उहाँले वताउनुभयो ।
बिशेषगरी वर्षायामको समयमा सवारीका साधन आवत जावत गर्नका लागि कठिनाइ भएकाले यस क्षेत्रका सयौ परिवारले समस्या भोग्दै आएका थिए । अव भने पुल निर्माण हुने भएपछी यस क्षेत्रका नागरिकलाई सहज हुने छ । यसअघि सांसद खतिवडाको पहलमा राक्सीराङकै परेवाभीरमा सडक निर्माणका लागि २ करोड रुपैयाँ संघीय सरकारले लगानी गर्ने भएको छ ।